१३ महिनापछि दस्ताबेजमा छलफल गर्दै नेकपा, पोखरेलको भूमिकाप्रति पूर्वमाओवादी पक्ष सशंकित

admin

काठमाडाैं, ७ असार :सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले पार्टीको मूल राजनीतिक दस्ताबेजमाथि पुनः छलफल गर्ने भएको छ । नयाँ पत्रिका दैनिकले समाचार छापेकाे छ । पार्टीको अन्तरिम कालीन कार्यदिशा जबज कि जनताको जनवाद भन्नेबारे अन्योल देखिएपछि नेकपाले पुनः मूल राजनीतिक प्रतिवेदनमाथि छलफल गरेर प्रकाशनको तयारी गरेको हो ।

पार्टी एकीकरण सम्पन्न भएको १३ महिनासम्म मूल राजनीतिक दस्तावेज प्रकाशन नहुँदा नेता–कार्यकर्ता पंक्तिमा कार्यदिशाकै बारेमा अन्योल देखिएकाले पुनः सचिवालयबाट सुझाब लिएर प्रकाशन गर्ने गरी शनिबारको बैठकमा एजेन्डाकै रूपमा छलफल हुन लागेको एक सचिवालय सदस्यले बताए । ‘दुई अध्यक्षबीच पहिले कार्यदिशामा देखिएको अन्योल चिरेर मूल राजनीतिक दस्तावेज प्रकाशन गर्ने सहमति भएको छ,’ ती सदस्यले भने, ‘शनिबारको सचिवालय बैठकको सुझाबसहित कार्यदिशाको अन्योल अन्त्य भएपछि बल्ल पार्टी पनि कता जान्छ भन्ने नक्सा प्रस्ट हुनेछ ।’

पार्टी सिद्धान्तमा विवाद कायमै
मूल राजनीतिक दस्तावेज र विधानमा पार्टीको सिद्धान्त माक्र्सवाद–लेनिनवाद तथा अन्तरिम कार्यनीति जनताको जनवाद हुने उल्लेख छ । त्यस्तै, तत्कालीन एमालेको सिद्धान्त जनताको बहुदलीय जनवाद र माओवादीको सिद्धान्त माओवाद र एक्काइसौँ शताब्दीको जनवादको कार्यनीतिलाई एकता महाधिवेशनबाट निरूपण गर्ने गरी स्थगित गर्ने सहमति भएको थियो ।

तर, पछिल्ला दिनमा सचिवालय सदस्य ईश्वर पोखरेलले पार्टीको अबको सिद्धान्त र कार्यनीति जनताको बहुदलीय जनवाद नै हुने भन्दै कार्यकर्ता पंक्तिमा जाने घोषणा गरेपछि अध्यक्ष प्रचण्डसहित पूर्वमाओवादी समूह सशंकित हुँदै आएको छ । तर, शुक्रबार प्रधानमन्त्री निवास बालुवाटारमा भएको छलफलमा अध्यक्ष केपी ओली र पुष्पकमल दाहाल प्रचण्डबीच कार्यनीतिबारे देखिएको अन्योल अन्त्य गर्न सचिवालयबाट सुझाब लिएर प्रकाशन गर्ने सहमति भएको छ ।

यससँगै शनिबार कार्यनीतिक सवालमा देखिएका असहमतिबारे नेताहरूले दस्तावेजमा आधारित भएर धारणा राख्ने तयारी गरेका छन् । उनीहरूबीच राजनीतिक प्रतिवेदन, केन्द्रीय सदस्यहरूको कार्यविभाजन, पछिल्लो राजनीतिक घटनाक्रमबारे करिब तीन घन्टा लामो छलफल भएको थियो ।

पोखरेलको भूमिकाप्रति पूर्वमाओवादी पक्ष सशंकित
गत वर्ष ३ जेठमा एकीकरण सम्पन्न भएलगत्तै असार पहिलो साता बसेको स्थायी समिति बैठकले मूल राजनीतिक प्रतिवेदन पारित गर्दै भाषिक शुद्धाशुद्धि मिलाएर प्रकाशन गर्ने गरी दुई अध्यक्षलाई जिम्मेवारी दिए पनि जारी नभएपछि नेकपाभित्र अन्योल देखिएको थियो ।

लामो समयसम्म दस्ताबेज प्रकाशन नहुनुमा अध्यक्ष ओली तत्कालीन माओवादीले सञ्चालन गरेको जनयुद्ध शब्द र भूमिकाबारे असहमत रहेको पूर्वमाओवादी समूहले आशंका गर्दै आएको छ । ओलीकै बुझाइ र असहमतिअनुसार पोखरेलले जबज नै पार्टीको कार्यनीति रहेको भन्दै बहस सुरु गरेको भनी पूर्वमाओवादी समूहले आपत्ति जनाउँदै आएको छ । पोखरेलको घोषणापछि अध्यक्ष प्रचण्डले पार्टीको अन्तरिम कार्यदिशा जनताको जनवाद नै रहेको भन्दै नयाँ परिवेशमा अबको कार्यनीति समाजवादउन्मुख हुने बताउँदै आएका छन् ।

प्रतिक्रिया