काठमाडौं, असार ९ : भैरहवामा निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको लागत ३५ अर्ब रुपैयाँ पुग्ने भएको छ। साढे ७ अर्ब रुपैयाँ मात्रै लागत तय गरेर ठेक्का गरिएको भए पनि त्योभन्दा ५ गुणा बढी खर्च हुने देखिएको छ। विमानस्थल निर्माणभन्दा तीन गुणाबढी रकम जग्गा अधिग्रहणमा लागेकाले लागत बढेको नेपाल नागरिक उड्डयन प्राधिकरणले जानकारी दिएको छ।
विमानस्थल निर्माणका निम्ति कार्गो विल्डिङबाट एप्रोनसँग जोड्ने सडक निर्माण गर्नुपर्ने, एरोब्रिज राख्नेसहितको काममा अझै डेढ अर्ब खर्च अनुमान गरिएको छ। सम्पूर्ण काम सक्दा र यो विमानस्थल सञ्चालनमा ल्याउँदासम्म करिब ३५ अर्ब रुपैयाँ खर्च हुने अनुमान पनि विमानस्थल आयोजनाको छ। प्राधिकरणका अनुसार यो विमानस्थल बनाउन करिब साढे ७ अर्ब रुपैयाँको मात्रै ठेक्का भएर मुख्य भौतिक पूर्वाधार निर्माणको काम गरिएको हो।
यो रकमबाट विमानस्थलको मुख्य धावनमार्ग, यात्रु सेवा भवन, कन्ट्रोल टावर, ट्याक्सी वे, एप्रोनसहितको काम हुनेछ। यो बाहेक ठूलो रकम विमानस्थलका निम्ति आवश्यक जग्गामा खर्च भएको विमानस्थल आयोजना प्रमुख प्रवेश अधिकारीले बताए। यो समाचार आजको अन्नपूर्ण पोस्ट् दैनिकमा राजु बास्कोटाले लेखेका छन् ।