सडक सुरक्षा सरकारको चुनौती : कानूनमन्त्री केसी

रिता घिसिंग

काठमाडौँ, १३ जेठ  :  प्रदेश नं ५ का आन्तरिक मामिला तथा कानूनमन्त्री कुलप्रसाद केसीले सवारी दुर्घटना न्यूनीकरण गर्नु प्रदेश सरकारको चुनौतीको विषय भएको बताउँदै प्रत्येक वर्ष सवारी दुर्घटनामा मृत्यु हुनेको सङ्ख्या बढेकाले यसको नियन्त्रणका लागि सरकार अब कडा ढङ्गले प्रस्तुत हुने बताउनुभएको छ ।

प्रदेश ५ को प्रदेश प्रहरी कार्यालयले आज बुटवलमा आयोजना गरेको सडक सभ्यता अभिवृद्धि एवम सवारी दुर्घटना न्यूनीकरण समुदाय प्रहरी साझेदारी सम्बन्धी एक दिवसीय ट्राफिक प्रहरी तथा सरोकारवालाहरुको सम्मेलनलाई सम्बोधन गर्दै उहाँले दुर्घटना न्यूनीकरणका लागि सडक सुरक्षा विशेष योजना लागू गर्ने बताउनुभयो ।

प्रदेश प्रहरी कार्यालय तुल्सीपुरका प्रहरी नायब महानिरीक्षक सुरेशविक्रम शाहले सडकको सुरक्षा र दुर्घटना न्यूनीकरणमा प्रहरी मात्र नभई सबै संवेदनशील बन्नुपर्ने धारणा राख्नुभयो ।

प्रदेश ट्राफिक प्रहरी कार्यालयका प्रहरी उपरीक्षक मधुसूदन लुुइँटेलले आर्थिक वर्ष ०७५÷७६ मा ९४५ वटा सवारी दुर्घटना भएकामा ५३४ जनाको मृत्यु भएको जानकारी गराउनुभयो ।

मानवीय कारण, यान्त्रिक, सवारी साधनको अवस्था, वातावरणीय र सडकको कारण सवारी दुर्घटना हुने गरेको बताउँदै उहाँले भौगोलिक विकटता र सडकको स्तरोन्नति नहुनु, प्राविधिक स्रोत साधनको अभाव र पुराना सवारी साधन पूर्णरुपमा विस्थापित नहुनु ट्राफिक प्रहरीका लागि चुनौतीको विषय भएको बताउनुभयो ।

सुरक्षित यात्रा नेपालका अध्यक्ष कृष्णप्रसाद बेलबासेले दुर्घटना न्यूनीकरणका लागि सवारी चालक, परिचालकहरुलाई व्यावहारिक ज्ञान दिन आवश्यक रहेको धारणा राख्नुभयो । पश्चिम नेपाल बस व्यवसायी प्रालिका अध्यक्ष दधिराम खरेलले अधिकांश दुर्घटना ओभरटेकका कारण हुने गरेकाले सवारी चालक सचेत हुनुपर्ने बताउनुभयो ।

रुपन्देहीका प्रजिअ अर्जुनप्रसाद पोखरेलले अकाल मृत्यु अपूरणीय हुने भएकाले सडक सभ्यता र सडक सुरक्षाका लागि सवारी धनी, सवारी चालक र पैदलयात्री सचेत हुनुपर्ने बताउनुभयो ।

बुटवल उपमहानगरपालिकाका प्रमुख शिवराज सुवेदीले मुख्य सडकको जिम्मा लिएको सडक विभाग अनुत्तरदायी हँुदा सडक सभ्यता र सडक सुरक्षाका लागि समस्या भएको बताउनुभयो । “मुख्य सडकमा खाल्डाखुल्डी छन् । स्थानीयले गुनासो गर्छन तर हाम्रो जिम्मेवारी छैन । सडक विभागले गर्दैन”, उहाँले भन्नुभयो, “बुटवल क्षेत्रमा निर्माणाधीन सडकबाहेक अन्य सडकमा समस्या छैन ।” रासस

प्रतिक्रिया

सम्बन्धित समाचारहरू