चाँगुनारायण र नारायणथान मेलामा घुइँचो

राष्ट्रिय समाचार समिति

मध्यपुरथिमि, २२ कात्तिक : हरिबोधिनी एकादशीका दिन लाग्ने मेला भर्न चाँगुनारायण मन्दिरमा बिहानैबाट भक्तजनको घुइँचो लागेको छ । हरेक वर्षजस्तै यस वर्ष पनि आज हरिबोधिनी एकादशीका दिन मन्दिरमा पूजा तथा दर्शन गर्न आउनेको भीड लागेको हो । उपत्यकाका चार नारायण चाँगुनारायण, इचङ्गुनारायण, शेषनारायण र विशङ्खुनारायणमध्ये चाँगुनारायण मन्दिरलाई जेठो नारायणका रूपमा पुजिने भएकाले यहाँ बिहान ४ बजेदेखि नै दर्शन गर्न आउने व्रतालु तथा भक्तहरुको भीड लागेको मन्दिरका मूलपुजारी चक्रधरानन्द राजोपाध्यायले बताउनुभयो ।

मन्दिरमा भक्तपुर, ललितपुर, काभ्रे र काठमाडौँलगायत विभिन्न जिल्लाबाट भक्तजन आउने गरेका छन् । लिच्छविकालीन राजा मानदेवको पालामा निर्माण भएको उक्त मन्दिर भक्तपुरबाट उत्तरतर्फ चार किलोमिटरको दूरीमा पर्दछ । यस मन्दिरमा आजको दिन नारायणको पूजा गरेमा साक्षात् नारायण प्रसन्न भई पारिवारिक सुख, शान्तिसहित मनोकाङ्क्षा पूरा हुने जनविश्वास रहेको पूजारी राजोपाध्यायले बताउनुभयो । हरिबोधिनी एकादिशीका दिन आज चाँगुनारायण नगरपालिकाले पनि आफ्नो नगरपालिका क्षेत्रमा सार्वजनिक बिदा दिएको छ ।

ललितपुर– गोदावरी नगरपालिका–२ विशङ्खु नारायणथान मेलामा महिला भक्तजनको ठूलो भीड लागेको छ । आज हरिबोधिनी एकादशी भएसँगै नारायणको दर्शन गर्न यहाँ बढी महिला भक्तजन भित्रिएका हुन् । हरेक वर्ष यहाँ एकादशीको दिन नारायणको पूजा र आराधना गर्न टाढा–टाढाबाट धाएर बढी महिला भक्तजन आउने गरेको मन्दिरका पुजारी राजेन्द्र सुवेदीले बताउनुभयो ।

“मेलामा ८० प्रतिशत महिला भक्तजनको सहभागिता रहेको छ”, सुवेदीले भन्नुभयो, “चारनारायण दर्शन गर्न आउने भक्तजनमा ९० प्रतिशत महिलाको नै सहभागिता हुने गर्छ ।” टाढाबाट आउने महिला भक्तजनले बाँडेगाउँ र गोदामचौरमा सवारी साधन राखी डेढदेखि दुई किलोमिटर पैदलयात्रा गर्दै नारायण दर्शन गर्न आउने क्रम बढ्दै गएको पुजारी सुवेदीको बुझाइ छ ।

भक्तजनलाई नारायणको दर्शन गर्न पूर्वपट्टिको द्वारबाट छिराएर दक्षिणपट्टिको द्वारबाट झारिएको छ । मन्दिरमा आवश्यक सुरक्षाकर्मी, स्वास्थ्य शिविर, स्काउट, राति नारायणलाई बत्ती बाल्न बस्ने भक्तजनका लागि सत्तललगायत बिरामीलाई पानी र विश्रामस्थलको व्यवस्था गरिएको विशङ्खुनारायण सेवा सुधार समितिका सल्लाहकार पुरुषोत्तम विष्टले बताउनुभयो ।

बढीजसो स्थानीय मानिसले बिहानै नारायणको दर्शन गरिसकेका छन् । कात्तिक महिना लागेसँगै भाइटीकापछि यहाँ भक्तजनको चहलपहल बढ्ने गर्छ । नारायणथानमा अन्य दिनभन्दा शनिबार बढी भक्तजन घुम्न र दर्शन गर्न आउने स्थानीयवासी बताउँछन् । नेपालका चार नारायणमध्ये विशङ्खुनारायणलाई माइला नारायणका रूपमा पुजिन्छ । भक्तपुरको चाँगुनारायणलाई जेठो नारायण, काठमाडाँैको दक्षिणकालीमा रहेको शेषनारायणलाई साइँला नारायण र इचङ्गुनारायणलाई कान्छो नारायणको रूपमा हिन्दू धर्मावलम्बीले पुज्ने गरेका छन् ।

हरिबोधिनी एकादशीको दिनदेखि भगवान् नारायण जलबाट उठ्ने हुँदा कात्तिक महिनामा हिन्दू धर्मावलम्बीले नेपालमा चार नारायणको दर्शन गर्ने परम्परा रहेको हो । विशङ्खुनारायण ललितपुरको एक प्रसिद्ध तीर्थस्थल पनि हो । यस नारायणको मन्दिर समुद्री सतहबाट एक हजार ५०० मिटर उचाइमा रहेको छ । यस मन्दिरमा प्रत्येक दिन बिहान नित्य पूजा र साँझमा नारायणको आरती हुने गरेको विशङ्खुनारायण सेवा सुधार समितिले जानकारी दिएको छ ।

भगवान् नारायणको प्रिय बाजा नगरा रहेकाले यहाँ प्रत्येक दिन नारायणको पूजासँगै नगरा बजाउने चलन पनि रहेको छ । यो नारायणथान लगनखेलबाट १० किलोमिटर टाढा पर्छ । विशङ्खुनारायणको दर्शन गर्न उपत्यकाका तीन जिल्लाका साथै नजिकका जिल्ला मकवानपुर, हेटाँैडा, धादिङ, नुवाकोट, सिन्धुपाल्चोक, काभ्रे र नवलपरासीलगायतका स्थानबाट धेरैजसो महिला भक्तजन आउने गरेका छन् । आज ठूली एकादशीको दिन तुलसीसँग भगवान् विष्णुको विवाह हुने दिन पनि हो । विशङ्खुनारायणमा नारायणको पूजा परापूर्वकालदेखि सुवेदी थरका मानिसले गर्दै आएका छन् ।

विशङ्खुमा सिलवाल र विष्ट थरको बाहुल्य रहेको छ । यस स्थानको भौगोलिक वनाटव शङ्खकोस्वरुपमा रहेकाले विशङ्खु भनी नामाकरण भएको स्थानीयवासी ८४ वर्षीय गोविन्द विष्टले जानकारी दिनुभयो ।

“योे मन्दिर ब्रह्मा, विष्णु र महेश्वरको पालादेखि सृष्टि भएको हो”, विष्टले भन्नुभयो, “भगवान्को नाममा कति वन र जग्गा छ अब त्यसको खोजी हुनुपर्छ ।” विसं २०२१ को नापीअनुसार मालपोत तिनुपर्छ भन्ने डरले नारायणको नाममा भएको जग्गाको खोजी नगरी पुजारीले आफ्नो नाममा भएको जग्गा मात्र कमाउँदा जग्गा हराएको हो । विशङ्खुनारायणथान मेलामा बदाम, वन तरुल, पिँडालु, सखरखण्ड, उखु, खुवा र स्थानीय बारीमा उत्पादन भएका फलफूल र तरकारीको व्यापार भएको छ ।

प्रतिक्रिया