एकाबिहानै बसले लियाे छात्राकाे ज्यान…

admin

काठमाडौं, ८ पुस : सुकेधारा बस्ने २१ वर्षीया सृष्टि पन्त सोमबार सबेरै कलेज हिँडिन्। बिहान करिब साढे पाँच बजेतिर उनी सुकेधारा चोक पुगिन्। चक्रपथ सडकखण्ड हुँदै चाबहिलतर्फ जाने क्रममा उनले बाटो पार गर्दै थिइन्। एक्लै कलेज जाँदै गरेकी उनलाई सुकेधारा चोकनजिकै अचानक बसले ठक्कर दियो। तीव्र गतिमा गुडिरहेको बसले ठक्कर दिएपछि उनी त्यहीं ढलिन्। सडक आसपास हिँडिरहेका पैदलयात्रु र अरु सवारीचालक दुर्घटना देखेर चिच्याउन थाले। नजिक भएका प्रत्यक्षदर्शीले सवारी नम्बर टिपेर प्रहरीलाई फोन गरे।

‘हामी अलि पर थियौं, चिच्याएको आवाज आयो, के रहेछ भनेर नजिक पुग्दा बसले ठक्कर दिएको रहेछ,’ प्रत्यक्षदर्शी भवानी बजगाईंले भनिन्, ‘त्यसपछि बसको अघिपछि भएका सबै सवारीसाधन रोकिए, हामीले प्रहरीलाई खबर ग-यौं।’ उनका अनुसार छ्याङ्ग उज्यालो भइनसकेकाले बसचालक शम्भुबहादुर बम्जन तर्कन खोज्दै थिए।

स्मृतिलाई ठक्कर दिएको केही बेरमा स्थानीय र विद्यार्थीले बसलाई घेरा हाले। गम्भीर घाइते भएकी सृष्टिलाई नजिकैको ओम अस्पताल लगियो। अस्पताल लग्नेबित्तिकै उनको मृत्यु भयो। उनलाई भक्तपुर कमलविनायकदेखि नयाँ बसपार्क चल्ने बा४ख ५९२० नम्बरको बसले चावहिलको पशुपति कलेजमा बिबिएस चौथो वर्षमा अध्ययनरत २१ वर्षीया सृष्टिलाई ठक्कर दिएको थियो। गोरखा घर भएकी सृष्टिको गत वर्षमात्रै विवाह भएको थियो। उनका पति वैदेशिक रोजगारमा छन्।

महानगरीय प्रहरी वृत्त महाराजगन्जका डिएसपी उमेश लम्सालले ठक्कर दिने चालकलाई नियन्त्रणमा लिएर कारबाही अघि बढाइएको जानकारी दिए। चालकमाथि सवारी ज्यानमुद्दाअन्तर्गत कारबाही हुने उनले बताए। ‘चालकलाई हामीले नियन्त्रणमा लिएका छौं, छात्राको शव पोस्मार्टमका लागि अस्पतालमा राखिएको छ। चालकलाई सवारी ज्यानमुद्दाअन्तर्गत कारबाही हुन्छ,’ लम्सालले भने। उनका अनुसार छात्रालाई ठक्कर दिएपछि आक्रोशित विद्यार्थी र आफन्तले बसमा आगजानी गरेका थिए।

गत शनिबार पनि बिहानै बुढानिलकण्ठ–५ बसपार्कनजिकैको सडकका एउटा कारले महिलालाई ठक्कर दिएको थियो। बुढानिलकण्ठ स्कुलनजिकैे बा१४च ६१२३ नम्बरको सुजुकी कारले बुढानिलकण्ठमा बस्दै आएकी लीला देवकोटालाई ठक्कर दिएको थियो। ठक्करले गम्भीर घाइते देवकोटालाई न्युरो हस्पिटल नपुर्‍याउँदै बाटोमै मृत्यु भएको थियो। मदिरा सेवन गरेर सवारी चलाउने चालक पृथ्वी मल्लमाथि सवारी ज्यानमुद्दाअन्तर्गत कारबाही अघि बढाइएको छ। नागरिक दैनिकले समाचार छापेकाे छ ।

प्रतिक्रिया