दाहाललाई जुत्ता हान्ने तिरुवामाथि अभद्र व्यवहारको मुद्दा चलाउने तयारी

admin

काठमाडौं, १९ फागुन : नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई लक्षित गरी जुत्ता प्रहार गर्नेमाथि अनुसन्धान गर्न तीन सदस्यीय छानबिन समिति गठन भएको छ ।

जुम्लाका रतन तिरुवामाथि अनुसन्धान गर्न महानगरीय अपराध महाशाखाका प्रमुख एसएसपी सहकुल थापाको नेतृत्वमा तीन सदस्यीय टोली गठन गरेको हो ।

यस समितिमा महानगरीय प्रहरी परिसरका डिएसपी होवीन्द्र बोगटी र सिंहदरबार वृत्तबाट इन्स्पेक्टर युवराज तिमल्सिना रहेको महाशाखाका प्रमुख एसएसपी थापाले जानकारी दिए ।

आइतबार राष्ट्रिय सभागृहमा आयोजित भरतमोहन अधिकारी स्मृति फाउण्डेसनको प्रथम स्मृति सभा सम्बोधन गरिरहेका दाहाललाई लक्षित गर्दै तिरुवाले जुत्ता प्रहार गरेका थिए ।

उनलाई तत्कालै पक्राउ गरिएको थियो । उनीविरूद्ध अभद्र व्यवहारको मुद्दा चलाउने तयारी भइरहको महानगरीय प्रहरी परिसरका प्रवक्ता होविन्द्र बोगटीले जानकारी दिएका छन्।

प्रतिक्रिया