सरकार बनाउने, टिपर भत्काउने

admin

रोल्पा, २० फागुन : राज्यले करोडौंको लगानीमा निर्माण गरेको सहिद–मार्ग सडक सोनापुर सिमेन्ट उद्योगको चरम लापरबाहीका कारण अल्प समयमै जीर्ण बनेको छ । दाङमा रहेको सो सिमेन्ट उद्योगले चुनढुंगा निकासी गर्न सडकको क्षमताभन्दा धेरै भार बोकेका टिपरहरू कुदाउँदा घोराही हुँदै रोल्पा होलेरीसम्मको सडक कालोपत्रे गरिए पनि उक्किएर कच्ची सडकभन्दा पनि जीर्ण बनेको हो ।

सिमेन्ट उद्योगका लागि वैकल्पिक मार्ग भए पनि त्यो प्रयोग नगरी टिपर चालकहरूले सहिद–मार्ग नै रोज्ने गर्छन्। सहिद–मार्गमा सोनापुर सिमेन्टका लागि दैनिक दुईदर्जन टिपर क्षमताभन्दा बढी भारको चुनढुंगा बोकेर कुद्ने गर्छन् । उद्योगले चुनढुंगा ओसार्न अर्को सडकको स्वीकृति ल्याएको भए पनि सहिद–मार्ग नै प्रयोग गरिरहेको छ। कालोपत्रे भएको १४ महिना नबित्दै टिपरका कारण सडक तहसनहस भए पनि मर्मत गर्नेतर्फ ध्यान दिइएको छैन ।

साढे ३१ किलोमिटर दूरीको उक्त सडकमा यात्रा गर्न गाह्रो हुन थालेको छ। पहाडी घुम्ती उक्त सडकमा दर्जनौं स्थानमा ठूल्ठूला खाल्डा परेपछि सवारीचालक र यात्रु हैरान बनेका छन्। ‘सिल प्यासेफिक ज्वाइन्ट भेन्चर कम्पनी’ ले ४० करोड ८३ लाख रुपैयाँमा कालोपत्रे गर्ने जिम्मा लिएको थियो ।

यो सडक भारतीय एक्जिम बैंकको ऋण सहयोगमा गत वर्ष कालोपत्रे गरिएको हो। निर्माणको एक वर्षसम्म ठेकेदार कम्पनीले मर्मतको जिम्मा लिने सम्झौता भएकाले सम्झौता अवधिमै सडक अस्तव्यस्त भएपछि हस्तान्तरणसमेत हुन सकेको छैन । दर्जनौं स्थानमा भत्किएको र उक्किएको यो कालोपत्रे सडक कतिपय ठाउँमा कच्ची सडकभन्दा पनि कमसल देखिन थालेको छ। नागरिक दैनिकले खबर छापेकाे छ ।

प्रतिक्रिया