सिलिन्डर लिनेको रेकर्ड राखिने

admin

काठमाडौं, २४ फागुन : कोरोना भाइरस प्रकोपको बहानामा व्यवसायीले कृत्रिम अभाव सिर्जना गर्दै दैनिक उपभोग्य वस्तुको भाउ बढाउन थालेपछि सरकाले नियन्त्रण प्रयास थालेको जनाएको छ । दैनिक उपभोग्य वस्तुको बजारभाउ नियन्त्रणका लागि आक्रामक रूपमा प्रस्तुत भएको सरकारले अब एउटा परिवारका लागि बढीमा दुईवटा बढी ग्याँस सिलिन्डर घरमा राख्नसमेत नदिने भएको छ । जसका लागि दुईभन्दा बढी सिलिन्डर लिनेहरूको रेकर्ड राख्न थालिएको छ ।

शुक्रबारदेखि हरेक ग्याँस विक्रेता र डिलरमा पुगेर दुईभन्दा बढी सिलिन्डर लिने उपभोक्ताहरूको रेकर्ड राख्न थालिएको उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले जनाएको छ । कोरोना भाइरस प्रभावकै कारण पछि नपाइने हल्लासँगै अहिले राजधानीलगायत मुलुकभरका विभिन्न सहरमा खाना पकाउने एलपी ग्याँस, दाल, चामल, चिनी, नुनलगायत वस्तुको अभाव छ ।

उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले आवश्यकभन्दा बढी खरिद गरी मौज्दात राख्न थालेपछि कालोबजारी नियन्त्रणका लागि सरकारले यस्तो नयाँ व्यवस्था गरेको बताएका हुन् । अहिले आवश्यकता भन्दा बढी ग्याँस सिलिन्डर लैजाने उपभोक्ताको रेकर्ड राख्न थालिएको जानकारी गराउँदै उनले ग्याँस अभाव नहुने भन्दै लाइन नबस्न आह्वान गरे । ‘अब सरकारले धेरै ग्याँस राख्नेबाट जफत गरेर नपाउनेलाई दिनेछ,’ उनले भने । आवश्यक भन्दा बढी सिलिन्डर राख्दा आगलागी हुने सम्भावना भएकाले अनावश्यक नराख्नसमेत आह्वान गरे ।

अहिले दैनिक ३० हजार ग्याँस सिलिन्डर उद्योगबाट गइरहेको जानकारी गराउँदै उनले शनिबारदेखि दैनिक ४४ हजार ग्याँस सिलिन्डर बजारमा पठाइने बताए । शुक्रबार मन्त्रालयमा आयोजित कार्यक्रममा उनले फोन गर्नेबित्तिकै ग्याँस पाउनेगरी हटलाइन टेलिफोनको व्यवस्था गर्ने बताए ।

उनले आपूर्ति मन्त्रालय र नेपाल आयल निगममा छिटै हटलाइन टेलिफोन व्यवस्था गर्ने मन्त्री भट्टले बताए । उनले अब कसैले पनि घरमा थप सिलिन्डर राख्नुनपर्ने दाबी गरे । मुलुकमा अहिले सबै उपभोग्य वस्तुको आपूर्ति सामान्य रहेको बताउँदै उनले अहिले बजारमा देखिएको कृत्रिम अभावको पछि नलाग्न आग्रह गरे । राजधानी दैनिकले खबर छापेकाे छ ।

प्रतिक्रिया