डीआईजी कटौतीबारे गृह सचिव-आईजीपी भनाभन

admin

काठमाडौं, २६ फागुन : कुनै करिअर प्लान नबनाई, औचित्य र आधार पुष्टि नगरी डीआईजीको दरबन्दी कटौती गर्ने कुरा कहाँबाट आयो सर ?’ प्र*हरी महानिरीक्षक (आईजीपी) ठाकुरप्रसाद ज्ञवाली फागुन दोस्रो साता आफ्नो कार्यकक्षमा जंगिएपछि गृहसचिव महेश्वर न्यौपाने केहीबेर अक्क न बक्क भए ।

माघ २९ मा आफैंले आईजीपीको फुली लगाइदिएका ज्ञवालीबाट यस्तो आक्रोश पोखिएपछि उनी केहीबेर मौन बसे । ‘तपाईंलाई जे मन लाग्छ त्यही गर्नुस्, म यस्तो निर्णयमा सहमत हुन सक्दिनँ,’ ज्ञवालीले थपे । त्यसपछि गृहसचिवको कार्यकक्ष केहीबेर सुनसानजस्तै भयो ।

न्यौपानेले समायोजन र संगठन तथा व्यवस्थापन (ओएन्डएम) सर्वेक्षण बन्ने क्रममा रहेको र १० वटा डीआईजी पद खारेज गर्ने विषय ज्ञवालीलाई सुनाएका थिए । ‘समायोजन प्रक्रिया अघि बढेको छ, दरबन्दी र पद तलमाथि हुन सक्छ, छलफल गरेरै अघि बढ्ने हो,’ गृहसचिवले यसो भनेपछि ज्ञवाली जंगिएका थिए ।

‘केहीबेर भनाभन नै भयो,’ न्यौपाने र ज्ञवालीबीचको भेटबारे स्रोतले भन्यो, ‘उहाँ (ज्ञवाली) प्र*हरी संगठनबारे गृहसचिवलाई आफ्ना कुरा राखेर निस्कनुभयो ।’

त्यसपछि आईजीपी ज्ञवालीले गृहमन्त्री रामबहादुर थापा र लोकसेवा आयोगका अध्यक्ष उमेशप्रसाद मैनालीसँग नेपाल प्र*हरी कमजोर बनाउने गरी कानुनी प्रावधान ल्याउन नहुने धारणा राखेको स्रोतले बतायो । सचिव न्यौपानेले त्यस दिनको भनाभन सामान्य भएको बताए ।

‘उहाँ (आईजीपी) ले आफ्ना कुरा राख्नुभयो, हामीले पनि राख्यौं,’ उनले कान्तिपुरसँग भने, ‘डीआईजीको संख्या घटाउने विषय आएको हो । ओएन्डएम र समायोजन प्रक्रियासँगै यो विषय टुंगोमा पुग्छ ।’

महानिरीक्षक ज्ञवालीले समायोजन र ओएन्डएम सर्वेक्षण तय गर्नेबारे छलफल भइरहेको र प्र*हरी प्रधान कार्यालयका तर्फबाट अवधारणा र प्रस्ताव पेस गरिएको बताए । ‘यस विषयमा मन्त्रालय र समायोजन तथा संगठन व्यवस्थापन सर्वेक्षणका लागि बनाइएका समितिमा हाम्रा प्रस्ताव, अवधारणाबारे जानकारी गराइरहेका छौं, आन्तरिक छलफल र बहसबारे अहिल्यै बाहिर बोल्नु उचित नहोला,’ उनले भने, ‘सन्तुष्टि वा असन्तुष्टिका विषय समितिमै राख्छौं ।’

वैज्ञानिक र प्रभावकारी रूपमा वृत्तिविकास प्रणालीसहित नेपाल प्रहरी र प्रदेश प्र*हरीको संरचना होस् भन्ने पक्षमा आफूहरू रहेको उनले बताए । कान्तिपुर दैनिकले खबर छापेकाे छ ।

प्रतिक्रिया