कोरोनाबारे सूचनामै संक्रमण

admin

काठमाडौं, २७ फागुन : धनगढी उपमहानगरले फागुन २१ गते ‘आमनगरवासीसमक्ष सादर अपिल’ भन्दै सार्वजनिक सूचना जारी गर्‍यो । कोभिड–१९ (कोरोना भाइरस) को संक्रमणबाट बच्न भन्दै जारी गरिएको सूचनामा हल्दी अर्थात् बेसार, बोझो र लसुनको सेवन गर्दा संक्रमणबाट बच्न सकिने उल्लेख छ ।

सर्वसाधारणका नाममा सूचना निकाल्ने धनगढी उपमहानगर एक्लो छैन । अधिकांश स्थानीय तह र जिल्ला प्रशासनले निकालेका यस्ता सूचनामा उल्लिखित तथ्य अपुष्ट र भ्रामक देखिन्छन् । धनगढी उपमहानगरले भनेजस्तो बेसार, लसुन र बोझोले संक्रमणबाट बच्न सकिने प्रमाणित तथ्य होइन ।

कोभिड–१९ बारे सामाजिक सन्जाल र अनलाइन मिडियामा भ्रमपूर्ण सूचना प्रवाह भएको भन्दै विश्व स्वास्थ्य संगठनले यस्तो शैलीलाई सूचना संक्रमण अर्थात् ‘इन्फोडेमिक’ भनेको छ । संगठनले लसुनमा रोग प्रतिरोधात्मक क्षमता वृद्धि गर्ने तत्त्व भए पनि यसैको सेवनले कोभिड–१९ बाट बच्न नसकिने जनाएको छ ।

संक्रमणबाट बचिने नाममा सर्वसाधारणलाई भ्रमित पार्ने सूचना सामाजिक सन्जाल र अनलाइन माध्यममा व्यापक भएको भन्दै आइतबार बीबीसीले एक रिपोर्ट प्रकाशित गरेको थियो । उक्त रिपोर्टमा गलत स्वास्थ्य सुझाव हानिकारक हुने उल्लेख छ । ‘फलफूल, तरकारी र पानी खानु स्वस्थ रहनका निम्ति राम्रो कुरा हो तर कुनै निश्चित खानेकुरा खाँदैमा भाइरसबाट बच्न सकिन्छ भन्ने तथ्य भ्रामक हो,’ रिपोर्टमा छ ।

साउथ चाइना मर्निङ पोस्टले फेब्रुअरी १५ मा कोरोना भाइरसबाट बचिने नाममा फैलिएका गलत सन्देशले एक जनाको झन्डै ज्यान गएको समाचार छापेको छ । लसुन खाए कोरानाबाट बचिने सुनेपछि पूर्वी चीनको झिज्याङ प्रान्तकी एक चिनियाँ महिलाले दुई साताको अवधिमा डेढ किलो काँचो लसुन खाएकी थिइन् । अत्यधिक लसुन सेवनले जलन भएपछि उनलाई अस्पताल लैजानुपरेको थियो ।

एकीकृत सूचना प्रणालीको अभावमा स्थानीय तहबाट कोरोना भाइरसबारे सार्वजनिक सूचना फरक–फरक खालका छन् र कतिपय एकापसमा विरोधाभासपूर्ण पनि देखिन्छन् । फागुन २३गते स्याङ्जाको चापाकोट नगरपालिकाका प्रमुख शिवकुमार गिरीको नामबाट जारी सूचनामा संक्रमणबाट बच्न सरसफाइमा ध्यान दिने, मासु र अण्डा राम्रोसँग पकाएर मात्र खाने बानी बसाउन अनुरोध गरिएको छ । कान्तिपुर दैनिकले खबर छापेकाे छ ।

प्रतिक्रिया