बालुवाटारमा नयाँ ‘सेटअप’

admin

काठमाडौं, २८ फागुन : बालुवाटारस्थित प्रधानमन्त्री निवासमा भेला, बैठक र भेटघाट नियमित नै हुने हो । तर प्रधानमन्त्री केपी शर्मा ओलीलाई अस्पतालबाट ल्याइएपछिको केही समय भने अस्वस्थ कसैले पनि भेट्न पाउने छैनन् । भेला, बैठक र भीडभाड हुने छैन ।

मिर्गौला प्रत्यारोपण गरिएका प्रधानमन्त्रीलाई त्रिवि शिक्षण अस्पतालबाट ल्याइएपछि वातावरणका कारण कुनै प्रकारका संक्रमण हुन नदिन बालुवाटारमा नयाँ ‘सेटअप’ गर्न लागिएको हो । त्यसका लागि निवासभित्र र परिसरको विशेष सरसफाइ गरिँदै छ । संक्रमणका स्रोतहरूको पूर्ण निर्मलीकरणका उपाय अवलम्बन गरेपछि मात्र ओलीलाई डिस्चार्ज गर्ने तयारीमा चिकित्सक छन् ।

प्रधानमन्त्री निवास पहिलाभन्दा केही सानो भएकाले सबै प्रकारको व्यवस्था मिलाउन कर्मचारीलाई हम्मे परिरहेको छ । ‘प्रधानमन्त्रीज्यूलाई संक्रमणको जोखिम छ, कसलाई कहाँसम्म जान दिने र कहाँ बसेर बैठक भेटघाट गर्ने भन्ने सेटअप मिलाइँदै छ,’ स्रोतले भन्यो, ‘मन्त्रिपरिषद् बैठकदेखि अन्य महत्त्वपूर्ण बैठक गर्नैपर्छ । भेटघाट हुन्छ । त्यस्तोमा कसलाई कतिसम्म नजिक जान दिने भन्ने चाँजोपाँजो मिलाइँदै छ ।’

बालुवाटारको प्रधानमन्त्री निवास हातामा दुई मुख्य भवन थिए । प्रधानमन्त्री निवास र मुख्य सचिव निवास । प्रधानमन्त्री निवास रहेको पुरानो भवन भत्काएर नयाँ निर्माण सुरु गरिएपछि प्रधानमन्त्री ओलीको बसाइ मुख्य सचिव निवासमा छ । अहिले त्यही भवनमा सरसफाइ भइरहेको हो । उक्त भवन प्रधानमन्त्रीको पुरानो निवासभन्दा केही साँघुरो छ ।

प्रधानमन्त्रीकी पत्नी राधिका शाक्यसँग पहिलोपटक मिर्गौला प्रत्यारोपण गर्दा स्याहार गरेको अनुभव रहेका कारण खानपानलगायत उनको व्यक्तिगत सरसफाइलाई व्यवस्थापन गर्न धेरै कठिनाइ नहुने देखिए पनि अहिले ओली फरक भूमिकामा रहेकाले अन्य विषयको व्यवस्थापन गर्न भने चुनौती छन् ।

प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाका अनुसार अहिले प्रधानमन्त्री निवासमा नयाँ पूर्वाधार भने खडा गर्न लागिएको होइन, बरु भएका पूर्वाधारको उपयोग सहज हुने गरी गर्ने तयारी भइरहेको हो । ‘प्रत्यारोपणअघि प्रधानमन्त्रीज्यूले जसरी भेटघाट र बैठक गर्नुहुन्थ्यो त्यही तरिकाबाट अब भेटघाट र बैठक गर्न मिल्दैन,’ उनले भने, ‘यसमा लुकाउनुपर्ने केही विषय नै छैन । उहाँलाई संक्रमणको जोखिम छ, त्यसैले त्यो नहोस् र काम पनि होस् भनेर जे जसरी चिकित्सकहरूले उचित ठान्नुहुन्छ, त्यसरी सेटअप गर्नुहुन्छ ।’

उनका अनुसार प्रधानमन्त्री आफैं र उनका परिवारका अन्य सदस्यहरू पनि प्रत्यारोपण गरिएका बिरामीलाई के गर्न हुन्छ र के गर्न हुन्न भन्नेमा जानकार रहेकाले व्यवस्थापन गर्न धेरै कठिन भने छैन । स्रोतका अनुसार प्रधानमन्त्री निवासको ‘सेटअप’ परिवर्तन गर्ने जिम्मा प्राडा. दिव्या सिंहले नै लिएकी छन् ।

उनले दिएको निर्देशनबमोजिम नै निवासका कोठाहरूमा कहीँ कतै ढुसी लागे/नलागेकोदेखि बाथरुमको सफाइ र भेटघाट कक्षमा बस्ने तरिकादेखि आगन्तुकले पालना गर्नुपर्ने नियमहरूसम्म तयार गरिँदै छ । ओली निवास फर्किएपछि खान मिल्ने र नमिल्ने चिजबिजको सूची पनि डाक्टरहरूले तयार पारेका छन् । कान्तिपुर दैनिकले खबर छापेकाे छ ।

प्रतिक्रिया