‘बरु चौरमा गरौं, एसईई पछि नरासौं’

admin

काठमाडौं, चैत २ : कोरोना त्रासका कारण एसईई परीक्षा स्थगन गर्ने बहस चलिरहेका बेला शिक्षाविद्हरूले सुरक्षाका उपाय अपनाएर सञ्चालन गर्न सुझाव दिएका छन् । माध्यमिक शिक्षा परीक्षा (एसईई) चैत ६ गते सुरु हुुँदै छ ।

सरकारले एसईई हुुने मुुलुुकभरका १ हजार ९ सय ९५ वटै परीक्षा केन्द्रमा हेल्थ डेस्क राख्ने भएको छ । परीक्षाका समयमा विद्यार्थीमा कोरोना भाइरसको संक्रमण नफैलियोस् भनेर शिक्षा विज्ञान तथा प्रविधि र स्वास्थ्य मन्त्रालयको समन्वयमा डेस्क स्थापना गर्न लागिएको हो ।

परीक्षा हलभित्र जानुुअघि परीक्षार्थी, कर्मचारी तथा परीक्षामा संलग्न अन्य सबैको तापक्रम जाँच गरिनेछ । परीक्षाका क्रममा कुुनै विद्यार्थीमा ज्वरो देखिएमा अस्पताल लगेर उपचारको व्यवस्थासमेत हेल्थ डेस्कबाट हुुनेछ ।

शिक्षाविद् विद्यानाथ कोइराला अहिलेको अवस्थामा परीक्षा नै रोक्न नपर्ने धारणा राख्छन् । तर कोरोना भाइरसको संक्रमण हुनबाट परीक्षार्थीलाई जोगाउने उपाय भने अपनाउनुपर्ने बताउँछन् । ‘परीक्षार्थीलाई हलमा राख्दा संक्रमण हुने सम्भावना रहन्छ भने ठूलो हल वा चौरमा राखेर पनि परीक्षा चलाउन सकिन्छ’, उनी भन्छन्, ‘बरु परीक्षार्थीलाई मास्क लगाएर आउन अनुरोध गरौं । पानी वा घामको समस्या हुने भएकाले चौरमा त्रिपाल टाँगेर पनि चलाउन सकिन्छ । आवश्यक परेमा स्वास्थ्यकर्मीको पनि परामर्श लिऔं ।’

परीक्षा स्थगन गर्दा फेरि सञ्चालनको टुंगो हुन्न । अवस्था झन् खराब हुन सक्छ । टाढाटाढाका विद्यार्थी घर फर्किन्छन् । पुनः सञ्चालन जटिल र खर्चिलोसमेत हुन्छ । त्यसैले सकेसम्म रोक्न नहुने विज्ञहरूको अभिमत छ ।

सरकारले पनि स्थगन नगरी सुरक्षाका उपायबारे अध्ययन गरिरहेको जनाएको छ । कोरोना भाइरस संक्रमण हुन नदिने विषयमा सचेतना जगाउन शिक्षा र स्वास्थ्य मन्त्रालयले संयुक्त रूपमा हजार स्वयंसेवक परिचालन गर्ने भएका छन् । स्वयंसेवक परिचालनका लागि हेल्थ डेस्क स्थापना गर्न शिक्षा मन्त्रालयले सहसचिव दीपक शर्मा तथा स्वास्थ्य मन्त्रालयले डा. गुणराज लोहनीलाई संयोजक बनाएका छन् ।

स्वास्थ्य विषय अध्ययन गरेका व्यक्तिलाई स्वयंसेवकका रूपमा परिचालन गरिनेछ । शिक्षामन्त्रीका स्वकीय सचिव पुरन केसीका अनुसार एमबीबीएस, बीपीएच, नर्सिङलगायत स्वास्थ्यसँग सम्बन्धित अन्य विषय पढेकालाई कोरोना भाइरसबारे चेतना जगाउन टोलटोलमा पठाइनेछ । अन्नपूर्ण पाेस्ट दैनिकले खबर छापेकाे छ ।

प्रतिक्रिया