गायक शिशिर याेगीलाई सापटीको ६० लाख उठाउन सास्ती

admin

काठमाडौं, २ चैत: ‘लौ न सर, म त बर्बाद भएँ, के गर्ने होला ?’ मलिन अनुहार लगाउँदै गायक शिशिर योगी बिहीबार महानगरीय प्रहरी परिसर टेकुको मुद्दा शाखामा पीडा पोख्दै थिए । अलि हतास र आत्तिएजस्ता देखिएका उनलाई प्रहरी अधिकृतले सम्झाए, ‘धैर्य गर्नुस् न सर, आत्तिएर हुँदैन । हामी खोज्दै छौं, काम हुँदै छ ।’ बाहिर निस्केर उनले कसैलाई फोन गरे र प्रहरीसँग भएको संवाद सुनाउँदै भने, ‘खै काम हुँदै छ मात्र भन्छ, अहिलेसम्म मान्छे समाएको छैन ।’

‘के भएको हो र यति धेरै हतासमा हुनुहुन्छ ?’ कान्तिपुरको जिज्ञासामा योगीले जवाफ दिए, ‘के हुनु र ? हेर्नुस् न, मलाई ६० लाख डुबाएर भागी । उसलाई खोज्न आग्रह गर्दै प्रहरीमा धाएको दुई महिना बितिसक्यो, अहिलेसम्म अत्तोपत्तो छैन ।’ ‘को हुन् त तपाईंलाई ठग्ने ?’ उनी केहीबेर घोरिए र खुल्दै गए, ‘दाङकी एक महिला चार वर्षको अवधिमा ६० लाख रुपैयाँ लिएर सम्पर्कविहीन भएकी छन्, उनकै खोजीमा भौंतारिइरहेको छु ।’

प्रहरीका अनुसार दाङ तुल्सीपुरकी झरना कुँवर (केसी) ले २०७२–०७५ को अवधिमा गायक योगीकी पत्नी खिमी योगीबाट पटक–पटक गरी ६० लाख रुपैयाँ लिएको उजुरी प्रहरीमा दर्ता भएको छ । उक्त रकम तिर्न भन्दै झरनाले ३०/३० लाख रुपैयाँका कृषि विकास बैंक नयाँ बानेश्वर शान्तिनगर शाखाका दुईवटा चेक खिमीका नाममा काटिदिएकी रहिछन् ।

पुस तेस्रो साता खिमी र शिशिर चेक साट्न गए । बैंकले ‘झरना कुँवर (केसी) का नाममा रहेको खाता चार दिनअघि नै बन्द भइसकेको’ जानकारी दिएपछि योगी दम्पती छाँगाबाट खसेजस्तै भए । २०७६ पुस २१ मा खिमीले झरनाविरुद्ध ‘चेक बाउन्स’ ठगीमा महानगरीय प्रहरी परिसरमा उजुरी दिइन् ।

प्रारम्भिक अनुसन्धानपछि परिसरले झरनाविरुद्ध अदालतबाट पक्राउ पुर्जीको अनुमति लियो । आफूविरुद्ध उजुरी परेको सुइँको पाएपछि झरना फरार छिन् । प्रहरीले उनका श्रीमान् पुरन केसीलाई बोलाएर सोधपुछ गर्‍यो । पुरन नेपाली सेनामा कार्यरत छन् । उनी संयुक्त राष्ट्रसंघीय शान्ति मिसनअन्तर्गत एकवर्षे कार्यकाल पूरा गरेर गत दसैंअघि सिरियाबाट आएका थिए ।

सिरियामै हुँदा झरनाले लगेको पैसा आफू नेपाल आएर तिर्ने बचन उनले दिएका रहेछन् । त्यो अडियो रेकर्ड शिशिरले प्रहरीलाई उपलब्ध गराएका छन् । अहिले पुरनले श्रीमतीले यतिधेरै पैसा लिएको आफूलाई थाहा नभएको दाबी गरेका छन् । सैनिक प्रहरीले पनि पुरनलाई बोलाएर केरकार गर्‍यो । त्यहाँ पनि उनले यस विषयमा केही थाहा नभएको बयान दिएका थिए ।

महानगरीय प्रहरी परिसर काठमाडौंका डीएसपी होविन्द्र बोगटीले चेक बाउन्स ठगीमा खिमी योगीबाट निवेदन आएको र दाङकै एक महिलालाई पक्राउ पुर्जी जारी भइसकेको बताए । ‘६० लाख रुपैयाँ ठगिएको उजुरी खिमी योगीका तर्फबाट परेको छ, रकम ठगेको आरोप लागेकी महिलाविरुद्ध हामीले अदालतबाट पक्राउ पुर्जी लिएर खोजी जारी राखेका छौं ।’

यसरी भयो ठगी
गायक योगी परिवारसहित काठमाडौं भीमसेन गोलामा भाडामा बस्छन् । त्यही घरमा पुरनको परिवार भाडामा बस्थ्यो । दुवै परिवारबीच बाक्लै आउजाउ हुन्थ्यो । एकअर्कामा घनिष्ठ सम्बन्ध । दुवै परिवार दाङका भएकाले विश्वासको वातावरण थियो । २०७२ को भूकम्पका बेला त दुवै परिवारले धेरैपटक भान्छा पनि एउटै गरे ।

पुरनकी श्रीमती झरनाले योगीको परिवारबाट धेरैपटक पैसा लिँदै, फिर्ता गर्दै गरिन् । समयमा फिर्ता गरिरहेकाले योगी परिवारले झरनालाई मागेजति पैसा दिइरह्यो । ‘दिदी, ब्याज पनि दिन्छु, समस्या पर्‍यो, सहयोग गर्नुस् न भन्दै श्रीमती खिमीबाट झरनाले पटक–पटक गरी ६० लाख लिएकी रहिछन्,’ योगीले कान्तिपुरसँग भने, ‘यतिधेरै पैसा लिइसकेकी रहिछन्, मलाई पत्तै भएन । पछि मात्रै मैले थाहा पाएँ ।’

पैसा माग्न थालेपछि यसबारे बाहिर हल्ला हुने डरले ‘निश्चित समयपछि भुक्तानी हुने गरी’ झरनाले ६० लाखका दुईवटा चेक खिमीलाई दिएकी रहिछन् । रकम फिर्ता गर्न बारम्बार दबाब दिन थालेपछि झरना डेराबाट फरार भइन् । चेक दिँदा झरनाका श्रीमान् पुरन शान्ति मिसनमै थिए । पुरन नेपाल आएपछि पुस १० गते उनीहरू डेरा सरिसकेका छन् ।

‘म गीत रेकर्डिङका क्रममा बाहिर रहेका बेला पुरन, उनका जेठान सुन्दर तथा अरू थुप्रै मानिस आएर कोठा सारे, श्रीमतीलाई उल्टै मेरी बहिनी कहाँ छे, तलमाथि भयो भने म छाड्दिनँ भन्दै सुन्दरले धम्क्याएछन् ।’

डीएसपी बोगटीले ठगी गर्नेलाई कानुनी दायरामा ल्याइछाड्ने बताए । दुई महिनादेखि फरार झरनाले यसअघि प्रयोग गर्ने मोबाइल नम्बर अहिले स्विच अफ छन् । बोगटीले यति धेरै पैसा कसरी झरनाले हात पारिन् भन्ने विषय अनुसन्धानकै क्रममा रहेको बताए । ‘यो विषयमा ६० लाख ठगी गरेको उजुरी परिसकेको छ, हामी ठगी गर्नेलाई खोजी गरिरहेका पनि छौं,’ उनले भने, ‘तर पैसा कसरी लेनदेन भयो भन्ने अनुसन्धानकै क्रममा छ ।’

प्रहरीका अनुसार ढुकुटी र चर्को ब्याजको लोभबाट सिर्जना भएका यस्ता थुप्रै केस प्रहरीमा आएका छन् । प्रहरी प्रधान कार्यालयका अनुसार पछिल्लो एक वर्षको अवधिमा मात्रै चेक बाउन्स र लेनदेनसम्बन्धी ठगीका ६ सय ७२ उजुरी परेका छन् । ठगीका उजुरी मिटर ब्याज, चेक बाउन्स र लेनदेनसँग सम्बन्धित धेरै छन् ।

महानगरी अपराध महाशाखा प्रमुख एसएसपी सहकुल थापा ठगी र चेक बाउन्सबाट सिर्जित वित्तीय अपराधका निवेदन लिएर दिनहुँ प्रहरीमा आउनेको संख्या बढ्दो क्रममा रहेको बताउँछन् । ‘चर्को ब्याजदरको लोभमा पैसा सापटी दिएर हुने ठगी होस् वा ढुकुटी खेलाउने, यसबाट सिर्जित समस्या लिएर आउनेको चाप प्रहरीमा दैनिकबढ्दो छ,’ थापा भन्छन्, ‘झट्ट हेर्दा चेक बाउन्स र लेनदेनको कागज भए पनि त्यसका पछाडि कतै न कतै मिटरब्याज र ढुकुटीकै कारण निम्तिएको समस्या देखिन्छ, छिट्टै पैसा कमाउने लोभ र अरूको जीवनशैली नक्कल गर्ने गलत प्रवृत्ति यसको मूल कारण हो ।’ कान्तिपुर दैनिकले खबर छापेकाे छ ।

प्रतिक्रिया