कोरोना भाइरस : सुनसान झापाका पर्यटकीय क्षेत्र

admin

भद्रपुर, २ चैत : कोरोना भाइरस (कोभिड-१९) स’ङ्’क्र’मणको त्रासका कारण झापाका पर्यटकीय क्षेत्रमा असर परेको छ ।

जिल्लाका विभिन्न स्थानमा रहेका पर्यटकीय क्षेत्रमा दैनिक घुम्न आउने आन्तरिक तथा बाह्य पर्यटक ठप्प भएपछि असर परेको हो ।

धार्मिक तथा ऐतिहासिक पर्यटकीय क्षेत्र किच्चकबध, कृष्णथुम्की, अर्जुनधारा जलेश्वरधाम, शिवसताक्षीधाम, दोमुखा, जामुनखाडी, बाँसबारी, कालिकालगायतका सिमसार क्षेत्रमा दैनिक १५ दिनयता आन्तरिक पर्यटकसमेत आउन ठप्प भएको छ ।

ती क्षेत्रमा खोलिएको होटल व्यवसायमा समेत परेको छ । दोमुखा धार्मिक तथा पर्यटकीय विकास व्यवस्थापन समितिका अध्यक्ष धनबहादुर लावतीले नेपाल सरकारले भिडभाडमा नजान, सभासम्मेलन र गोष्ठीलगायतका कार्यक्रम नगर्न आग्रह गरेसँगै पर्यटक आउन छाडेको बताएका छन् ।

“कोरोना भाइरस स’ङ्’क्र’मणको त्रासका कारण कोही पनि आउँदैनन्”, उनले भने, “यसले पर्यटन क्षेत्र धरासायी बनायो ।” उनले यतिबेला समितिका पदाधिकारी नै स्थानीय सरकारसँग मिलेर कोभिड-१९ बाट जोगिन स्थानीयवासीलाई सचेतनामूलक कार्यक्रम गर्दै आएको बताए ।

भारतको सिक्किम, दार्जिलिङ, कालिम्पोङलगायत पश्चिम बङ्गालबाट र नेपालकै विभिन्न जिल्लाबाट दैनिक सयौँको संख्यामा आउने पर्यटक ठप्प भएपछि मेचीनगर-११ मा रहेको बाँसबारी सामुदायिक वन सुनसान भएको छ ।

बाँसबारी सामुदायिक वन उपभोक्ता समितिका अध्यक्ष तक्दिर प्रसाइँले चीनमा कोरोना भाइरसको स’ङ्’क्र’मण देखिएपछि पर्यटक आउन कम भएको बताउँदै भने, “अहिले त झन ठप्प छ कोही आउँदैनन् ।”

दैनिक ५०० भन्दा बढी पर्यटक आउने जामुनखाडी सिमसार क्षेत्रमा समेत पर्यटक आउन छाडेका छन् । प्रदेश नम्बर-१ को सरकारले वन्यजन्तु आरक्षण केन्द्रको रूपमा विकास गरेसँगै यहाँ आउने पर्यटकको संख्यामा वृद्धि हुन थालेको थियो ।

जामुनखाडीको मिनी चिडियाखानामा रहेका बाघ, भालु, अजिङ्गर, नील गाई, हरिण, जरायोलगायतका दर्जनौँ जनावर हेर्नका लागि विद्यार्थीको समेत भीड लाग्ने गरेको थियो । शनिबारसमेत जिल्लाकै विद्यालयबाट आउने विद्यार्थी आउन छाडेका छन् ।

प्रतिक्रिया