पुरानै लयमा फर्किंदै प्रधानमन्त्री ओली

admin

काठमाडौं, ३ चैत : दोस्रोपटक मिर्गौला प्रत्यारोपण गरेर शुक्रबार बालुवाटार फर्किएका प्रधानमन्त्री केपी शर्मा ओलीको दैनिकी व्यस्त हुन थालेको छ । शनिबारबाटै उनी छलफलमा सहभागी हुन थालेका थिए । आइतबार उनी अझ सक्रिय देखिए ।

आइतबार प्रधानमन्त्री ओलीले दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क) क्षेत्रका नेताहरूबीच भएको भिडिओ कन्फरेन्समा सिंहदरबारस्थित एक्सन रुमबाट सम्बोधन गरे ।

१९ फागुनमा मिर्गौला प्रत्यारोपणका लागि अस्पताल भर्ना भएका उनी १२ दिनपछि बालुवाटार फर्केका हुन् । प्रधानमन्त्री ओली शनिबारबाटै छलफलमा सहभागी हुन थालेको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले बताए । ‘उहाँ पुरानै लयमा फर्कंदै हुनुहुन्छ । नियमित काममा अग्रसर भइरहनुभएको छ,’ थापाले राजधानीसँग भने ।

विश्वभरि महामारीका रूपमा फैलिएको कोरोना भाइरसको संक्रमणविरुद्ध साझा रणनीति तय गर्न भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको आग्रहमा आइतबार भएको सार्क राष्ट्र प्रमुखको भिडिओ कन्फरेन्समा प्रधानमन्त्रीले नेपाल कोरोनाविरुद्ध मित्र राष्ट्रसँग मिलेर लड्न तयार रहेको बताएका थिए ।

अस्पतालबाट डिस्चार्ज भएपछि केही समय बालुवाटारमै आराम गर्ने बताइए पनि प्रम ओलीले सक्रियता बढाएका हुन् । उनले अस्पतालबाट फर्केपछि शीर्ष नेता, मन्त्री, पार्टी सचिवालय सदस्यहरूसँग भेटघाट गरेका थिए ।

प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमालले प्रधानमन्त्री अत्यावश्यक भेटघाटमा मात्र सरिक भएको बताए । ‘एक महिनासम्म संक्रमणको उच्च जोखिम हुने भएकाले पहिले जस्तो प्रधानमन्त्री भेटघाटमा व्यस्त हुनुहुनेछैन तर अत्यावश्यक भेटघाट गर्न थाल्नुभएको छ,’ उनले भने ।

विश्वभरि नै कोरोना भाइरसको संक्रमण बढ्दै गएकाले पनि आफू आराम गरेर बस्न नसक्ने ओलीको भनाइ रहेको बालुवाटार स्रोतले जनाएको छ । चिकित्सकको सल्लाहअनुसार नै उनको नियमित भेटघाट भइरहेको रिमालले दाबी गरेका छन् । कतिपयले भने प्रधानमन्त्रीलाई केही समय आराम गर्न दिनुपर्ने बताएका छन् ।

प्रधानमन्त्री ओलीले यसबीचमा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) अध्यक्ष पुष्पकमल दाहाल, वरिष्ठ नेता माधवकुमार नेपाल, महासचिव विष्णु पौडेल, सचिवालय सदस्य एवं उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलसँग छलफल गरेका छन् । उनीहरूसँग प्रधानमन्त्रीले पछिल्लो राजनीतिक अवस्थाबारे छलफल गरेका थिए ।

ओली पुरानै लयमा सक्रिय हुन खोजिरहेको देखिन्छ । तर, चिकित्सकले यस विषयमा उनलाई सचेत गराइरहेका छन् । ओली गभर्नर नियुक्तिको प्रक्रियालाई छिट्टै सम्पन्न गराउन चाहन्छन् । मन्त्रिपरिषद् बैठक बसेर नयाँ गभर्नर नियुक्तिका लागि समिति गठन गर्ने र सो समितिको सिफारिसमा तत्काल गर्भनर नियुक्ति गर्न ओलीको छलफल केन्द्रित हुन थालेको छ ।

नेकपा उपाध्यक्ष वामदेव गौतमलाई राष्ट्रियसभा सदस्य बनाउने पार्टी निर्णय कार्यान्वयन गर्ने र नगर्ने भन्ने विषय ओलीमा आएर अड्किएको छ । यद्यपि, गौतमलाई राष्ट्रियसभा सदस्य बनाउने विषयमा पार्टीभित्रै विवाद रहेको र त्यसलाई समाधान गर्नुपर्ने चुनौती ओलीलाई छ । यस विषयलाई सबैले चासोका साथ हेरेका छन् । राजधानी दैनिकले खबर छापेकाे छ ।

प्रतिक्रिया