मुख्यमन्त्रीसँगै कांग्रेसका २२ जना सांसदद्वारा राजीनामा

राष्ट्रिय समाचार समिति

काठमाडौं, ७ चैत : भारतको मध्यप्रदेश राज्यका मुख्यमन्त्री कमलनाथले शुक्रबार आफ्नो पदबाट राजीनामा दिएका छन् ।

सत्तारुढ भारतीय राष्ट्रिय कांग्रेसका २२ जना सांसदले पार्टीबाट राजीनामा दिएसँगै मध्यप्रदेश विधानसभामा कांग्रेसले बहुमत गुमाएको थियो ।

भोपालमा शुक्रबार आयोजित पत्रकार सम्मेलनमा मुख्यमन्त्री कमलनाथले आफूले राज्यका गभर्नर समक्ष राजीनामा बुझाएको जानकारी दिए ।

बिहीबार भारतीय सर्वोच्च अदालतले शुक्रबार संसदमा विश्वासको मत लिन मुख्यमन्त्री कमलनाथ सरकारलाई आदेश दिएको थियो ।

कांग्रेसका युवानेता ज्योतिरानन्द सिंधिया भारतीय जनता पार्टीमा प्रवेश गरेसँगै २२ जना कांग्रेसका सांसदले पार्टी छाडेर भाजपा प्रवेश गरेको घोषणा गरेका थिए ।

यसैबीच विधानसभाका सभामुख एनपी प्रजापतीले १६ जना सांसदले बुझाएको राजीनामा स्वीकार गरेका थिए । साथै उनले भाजपाका एक सांसदको पनि राजीनामा स्वीकृत गरेका छन् ।

यसअघि नै अरु ६ जना कांग्रेस आबद्ध सांसदले दिएको राजीनामा पनि सभामुखले स्वीकृत गरिसकेका थिए ।

प्रतिक्रिया