बागमती प्रदेश प्रहरी कार्यालयबाटै कोरोना संक्रमण नियन्त्रक औषधि छर्किन सुरु

admin
  • बिकास रौनियार

हेटौडा: बागमती प्रदेश प्रहरी कार्यालय हेटौडाले आफ्नो कार्यालयको हाता भित्रबाट कोरोन भाइरस बिरुद्धको किटाणुहरु नष्ट गर्ने उद्देश्यले संक्रमण नियन्त्रक औषधि छर्कन सुरु गरेको छ ।

कोभिड– 19 (कोरोना )भाइरसले विश्वभरी आफ़्नो प्रभाव फैलाइरहेको वर्तमान अवस्थामा बागमती प्रदेश प्रहरी कार्यालयले अन्य मातहतका कार्यालयहरुको अनुगमन, निर्देशन तथा कोरोना भाइरससँग सम्बन्धित सामाग्रीहरुको वितरण गर्ने मात्र नभएर सवारी साधनको तथा आफ्नो कार्यालयको हाता भित्र समेत किटाणुहरु नष्ट गर्ने उद्देश्यले औषधि छर्केको हो।

बागमती प्रदेश प्रहरी कार्यालयका निमित प्रदेश प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक किशोर कुमार दाहालले उक्त कार्यको आफ्नै कार्यालय परिसरबाट सुरुवात गरेका हुन् । हामीले ठुलाठुला भवन वा करोड अरबका कुरा गरेर भन्दा पनि अहिलेको समयमा कोरोना भाइरसबाट हुन सक्ने महामारी रोक्न तथा फैलिन नदिन सामान्य आचरण र व्यवहारमा सुधार ल्याउन सके कोरोना विरुद्धको महायुद्धमा विजय हासिल गर्न सक्ने कुरा दाहालले बताए ।

विश्वले गरेको विज्ञान र प्रविधिका क्षेत्रमा गरेको विकास र आविष्कारलाई समेत कोरोना भाइरसले चुनौती दिइरहेको सन्दर्भमा हामीले लामो समय लगाएर हासिल गरेको तालिम तथा कार्यअनुभव समेतलाई कोरोना भाइरसले थप निष्प्रभावि बनाइदिएको छ ।

अहिले कोरोना भाइरसको कारणले सामाजिक दुरी कायम गर्नुपर्ने तथा कर्तव्य पालनाको शिलशिलामा धेरै मानिसहरुसँग सम्पर्क हुन सक्ने हुँदा, साबुन, सेनिटाइजर , माक्स , पन्जा लगायतका सामाग्रीको सहायताले सुरक्षित रही, यतिबेला धेरै नेपाली बुबा ,आमा, दाजुभाइ र दिदी बहिनीको बचाउको लागि आफ्नो कार्यक्षेत्रमा सुरक्षा सावधानी अपनाएर खट्न समेत निर्देशित गरेका छन ।

साथै सरकारले घोषणा गरेको लकडाउनको राम्रोसँग पालना गर्न, घरबाहिर जानैपर्ने काममा बाहेक ननिस्कन, हात मिलाउने तथा अंकमाल नगरी टाढैबाट नमस्कार गर्न, सामाजिक दुरी कायम गर्न, बारम्बार साबुन पानी वा सेनिटाइजरले हात सफा गर्न, सरसफाईमा विशेष ध्यान दिन, खोक्दा र हाछिउँ गर्दा नाक र मुख छोपेर मात्र गर्न, मुख, नाक र आँखामा हात लैलानु अगाडि वा खानेकुरा छुदा वा खाँदा २-३ पटक सोचेर मात्र हात सफा भएनभएको एकिन गरी गर्न र हातमा घडि, चुरा, डोरो आदि बाँधेको भए पनि अहिलेलाई नलगाउने जस्ता सामान्य कुराहरुमा विशेष ध्यान दिन समेतप्रहरी कर्मचारी लगायत सबै सर्वसाधरणहरुमा नि. प्रदेश प्रमुख प्रहरी वरिष्ठ उपरिक्षक किशोर कुमार दाहालले अनुरोध गरे ।

यस किसिमका कार्यक्रमहरुले प्रहरी कार्यालय तथा प्रहरी कर्मचारीहरु समेत सुरक्षित रहन मद्दत गर्ने तथा कार्यसम्पादनमा समेत प्रभावकारिता आउने कुरा बागमती प्रदेश प्रहरी कार्यालयका सूचना अधिकृत प्रहरी उपरीक्षक अरुण पौडेलले हामीलाई जानकारी गराउनुभयो ।

प्रतिक्रिया