अमेरिकामा आँधीबाट ६ जनाको ज्यान गयो

admin

काठमाडौं, १ वैशाख : संयुक्तराज्य अमेरिकाको मिसिसिपी राज्यको ज्याक्सनमा आइतबार आएको विशाल आँधीहुरीका कारण कम्तीमा ६ जनाको ज्यान गएको छ । आँधीबाट उत्तरी लुजियानामा कम्तीमा ३०० वटा घर र अन्य भवनमा क्षति पुगेको स्थानीय उद्धारकर्मीहरुले बताएका छन् ।

मिसिसिपी आपतकालीन व्यवस्थापन संस्थाका निर्देशक ग्रेग मिसेलले वाल्थाल काउन्टीमा एक जना, लरेन्स काउन्टीमा दुई जना र जेफरसन डेभिस काउन्टीमा तीन जनाको ज्यान गएको जानकारी दिए । अमेरिकी राष्ट्रिय जलवायू विभागले मिसिसिपी राज्यका अन्य क्षेत्रमा पनि तिब्र वेगका साथ हावाहुरी आउने बताएको छ ।

मेरिडियनको उत्तर अलाबामा राज्यको सीमा नजिक चक्रवात आउने सम्भावना रहेको विभागले जनाएको छ । मिसिसिपी राज्यका गभर्नर टेट रीभ्सले राज्यमा हावाहुरीले धेरै क्षति पुर्‍याएको भन्दै आइतबार नै आपतकालीन स्थितिको घोषणा गरेका छन् ।

“इस्टर पर्वकै दिन भिषण हावाहुरी आएर जनधनको नोक्सानी हुनु निकै दुःखदायी कुरा हो,” गभर्नर रीभ्सले ट्वीट गर्दै भनेका छन् । “कोरोनाभाइरसको महामारी चलिरहेकै बखत आँधीले दुःख दिए पनि हामी सबै मिलेर यस्ता दुःख निवारण गर्न सक्षम हुनुपर्छ ।”

उत्तर पश्चिम लुजियानामा पनि स्थानीय अधिकारीहरुले राज्यका डीसोटो र वेब्स्टर क्षेत्रमा दर्जनौं घरमा क्षति पुगेको बताएका छन् । अमेरिकी जलवायू विज्ञान विभागले पछिल्लो आँधीले मिसिसिपी, अलाबामा र पश्चिम जर्जियामा समस्या निम्त्याउने जनाएको छ । अमेरिकाका दक्षिणी क्षेत्रका धेरै राज्यमा आँधीले नोक्सान गर्ने सम्भावना देखिएको पनि विभागको भनाई छ ।

प्रतिक्रिया