कोरोनाको महामारीसँगै अमेरिकामा आँधीबाट ३० जनाभन्दा बढीको ज्यान गयो

admin

काठमाडौं, २ बैशाख : कोरोनाभाइरसको महामारी जारी रहेकै अवस्थामा संयुक्तराज्य अमेरिकाको दक्षिणपूर्वमा सोमबार आएको शक्तिशाली हावाहुरीका कारण ३० जनाभन्दा बढीको ज्यान गएको छ ।

आँधीका कारण १० लाखभन्दा बढी मानिस घरबारविहीन हुनुका साथै ठाउँठाउँमा बाढी र पहिरो गएको स्थानीय उद्धारकर्मीहरुले बताएका छन् । अलाबामा राज्यमा आँधीपीडित मानिसहरु सामुदायिक आश्रयकेन्द्रमा भेला भएका र कोरानाभाइरस प्रसार रोक्न उनीहरुले मास्क लगाउनु परेको छ ।

आँधीबाट अलाबामा राज्यमा मात्र ११ जनाको ज्यान गईसकेको छ । उता दक्षिणी क्यारोलिना राज्यमा नौ जनाको ज्यान गएको छ भने छिमेकी राज्य जर्जियामा आठ जनाको ज्यान गएको छ ।

टेनिसी राज्यका अधिकारीहरुले राज्यमा कम्तीमा तीन जनाको ज्यान गएको जनाएका छन् । अर्कान्सास र उत्तरी क्यारोलिना राज्यमा रुखहरु ढलेका वा घरहरु भत्किएका कारण केही व्यक्तिको ज्यान गएको आशंका गरिएको छ ।

दक्षिणी क्षेत्रका राज्यहरुका कपितय ठाउँमा शक्तिशाली चक्रवात (टोर्नाडो) उत्पन्न भएको र यी चक्रवातहरु पूर्वी समुद्री किनारातर्फ बढ्न थालेको देखिएको मौसम विज्ञान विभागले जनाएको छ ।

मिसिसिपी राज्यका गभर्नर टेट रिभ्सले एक दशकको अवधिमा यति शक्तिशाली आँधी पहिलोपटक देखिएको बताए । उनले राज्यमा विगतमा पनि चक्रवातको अनुभव गरिएको तर यति शक्तिशाली आँधी पहिलोपटक आएको बताए ।

जर्जियाका गभर्नर ब्रायन केम्पले कोरोनाभाइरसका कारण धेरै मानिस कामबिहीन भएको अवस्थामै आँधीले उनीहरुको सर्वस्व लुटेको बताए । “अब यी मानिससँग आफ्नो भन्ने केही छैन, सबै गुम्यो ।”

यो आँधी आइतबारदेखि शुरु भएको हो । अलाबामा राज्यका गभर्नर के आइभीले कोरोना प्रसार रोक्ने उद्देश्यले लगाइएको “सामाजिक दूरी” सम्बन्धी नियम पनि हाटाइदिएका छन् । राज्यका अस्थायी आश्रयस्थलहरुमा मानिसहरु मास्क लगाएर एकै ठाउँमा भेला भएर बस्न बाध्य भएका छन् ।

आँधी प्रभावित क्षेत्रहरुमा बाढी र पहिरो गएको छ भने टेक्सासदेखि मेनसम्मको क्षेत्रमा १३ लाख ग्राहकको विद्युत लाइन काटिएको छ ।

टेनिसी उपत्यकामा सप्ताहान्तमा वर्षा मापन गर्दा १५ सेन्टिमिटरसम्म वर्षा भएको पाइएको छ । टेनिसी र अलाबामाका ताल र नदीको सतह बढेको छ ।

प्रतिक्रिया