भारतमा ‘लकडाउन’ बैशाख २१ गतेसम्म लम्बियो, संक्रमितको संख्या १० हजार नाघ्यो, ३३९ को मृ’त्यु

admin

काठमाडौं, २ बैशाख : भारत सरकारले कोरोना भाइरस (कोभिड-१९) को सङ्क्रमण रोक्नका लागि हाल जारी रहेको लकडाउनलाई आगामी मे महिनाको ३ तारिख अर्थात् बैशाख २१ गतेसम्म लम्ब्याएको घोषणा गरेको छ ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले गत महिना घोषणा गरेको २१ दिने लकडाउनको अवधि मंगलबार समाप्त हुँदैछ । प्रधानमन्त्री मोदीले मंगलबार टेलिभिजनबाट सम्बोधन गर्दै भने, “लकडाउनको अबको अवस्थामा अनुगमन कार्यलाई झनै कडा पारिनेछ । आगामी अप्रिल २० तारिखसम्म देशका विभिन्न राज्य तथा जिल्लामा लकडाउन के कसरी कार्यान्वयन भएको छ भन्ने बारेमा विशेष अनुगमन गरिनेछ ।”

यदि राज्य तथा जिल्लाहरुमा लकडाउन राम्रोसँग कार्यान्वयन भएको देखिएमा ती क्षेत्रमा अप्रिल २० पछि अत्यावश्यक सेवा र वस्तुका लागि केही खुकुलो गरिने उनले बताए । प्रधानमन्त्री मोदीले गत शनिबार भारतका विभिन्न राज्यका मुख्यमन्त्रीहरुसँग भिडियो कल गरेर अहिलेको लकडाउनको अवस्थालाई के गर्ने भन्ने विषयमा परामर्श गरेका थिए ।

सबैको सुझावलाई ध्यानमा राखेर नै मे ३ सम्म लकडाउन कायम गरिएको मंगलबारको सम्बोधनमा उनको भनाई थियो । यो सबै नागरिकको जीवनको सुरक्षाका लागि गरिएकोले सबैलाई यस अवधिमा घरभित्रै बस्न र बाहिर ननिस्किन पनि उनले आग्रह गरे।

सरकारले जारी राखेको यही लकडाउनकै कारण भारतमा अहिलेसम्म कोरोनाबाट हुने क्षतिलाई कम गर्न सकिएको उनले बताए। सो सम्बोधनका क्रममा उनले भने- “हामीलाई थाहा छ कि तपाईंहरुलाई अप्ठ्यारो परेको छ, कसैलाई खाने त कसैलाई आउजाउ गर्न पनि समस्या छ । तर पनि तपाईहरु सबै देशवासीले यस्तो अप्ठेरो अवस्थामा पनि अनुशासित रुपमा सरकारको आदेश मान्नुभएको छ र एकजना सिपाहीले जस्तो गरी कर्तव्यको पालना गर्नुभएको छ ।”

भारतमा गएको २४ घन्टायता ‘कोभिड १९’ संक्रमितको संख्यामा १ हजार २११ जना नयाँ थपिएका छन् । त्यसपछि भारतमा कोरोना भाइरसका संक्रमितको संख्या दश हजार ३६३ पुगेको भारतीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले मंगलबार बिहान जानकारी दिएको छ ।

उक्त मन्त्रालयका अनुसार गएको २४ घन्टायता मृ’त्यु हुनेको संख्या ३१ रहेको पाइएको छ । योसँगै भारतमा कोरोना संक्रमणबाट ज्यान जानेको संख्या ३३९ पुगेको छ । भारतमा देखिएका यी संक्रमितहरु मध्ये १ हजार ३६ जना उपचारपछि फर्किएका जनाइएको छ । हाल ८ हजार ९८८ जना कोरोना भाइरस संक्रमितहरु उपचाररत रहेका छन् ।

प्रतिक्रिया