बेलायतले भारतबाट ३० लाख पारासिटामोल ल्याउने

राष्ट्रिय समाचार समिति

लण्डन, ३ बैशाख: बेलायतले भारतबाट ३० लाख पारासिटामोल औषधी ल्याउने भएको छ । भारतीय उच्च अधिकारीसँगको कुराकानीका क्रममा भारतले बेलायतलाई पारासिटामोल औषधी पठाईदिने सहमति भएको हो ।

बेलायतको विदेश मन्त्रालयले बुधबार दिएको जानकारीअनुसार भारतले बेलायतलाई ३० लाख पारासिटामोल उपलब्ध गराउने सहमति जनाएको छ । “भारतसँगको कुराकानीपछि बेलायलतले भारतबाट झण्डै ३० लाख पारासिटामोल पाउने भएको छ,” बेलायती विदेश मन्त्रालयले भनेको छ ।

भारतले उपलब्ध गराउने भनेको औषधी आगामी दुई हप्तामा बेलायत आइपुग्ने र सुपरमार्केटमा राखिने मन्त्रालयका अधिकारीहरुले जनाएका छन् ।  पछिल्लो विवरणअनुसार बेलायतमा बुधबारसम्म कोरोना भाइरसबाट ९८ हजार ४७६ जना संक्रमित भएका छन् । ती मध्ये चार हजार ६०३ जनामा पछिल्लो २४ घण्टामा संक्रमणको पुष्टि भएको हो ।

सरकारी अधिकारीहरुका अनुसार बेलायतमा कोरोनाका कारण अहिलेसम्म १२ हजार ८६८ जनाको मृत्यु भएको छ । ती मध्ये ७६१ जनाको पछिल्लो २४ घण्टामा मृत्यु भएको छ । कोरोना भाइरसबाट धेरै प्रभावित देशहरु मध्ये बेलायत अघिल्लो छैठौँ स्थानमा पर्दछ । सवैभन्दा धेरै मृत्यु हुने र संक्रमित हुनेमा अमेरिका रहेको छ ।

प्रतिक्रिया