जापानमा कोरोना संक्रमितको संख्या दश हजार नाघ्यो

admin

काठमाडौं, ७ बैशाख : जापानको स्वास्थ्य मन्त्रालयले २४ घण्टाको अवधिमा जापानमा कोरोनाभाइरस संक्रमणका ५६८ वटा नयाँ घटना देखिएको आइतबार जनाएको छ । यो सहित जापानमा कूल संक्रमितको संख्या दश हजार ३६१ पुगेको छ ।

यस वर्षको सुरुमा टोकियोको नजिक क्वारेन्टाइनमा राखिएको यात्रुबाहक पानीजहाजका ७१२ जना समेत जापानमा ११ हजार ७३ जनामा संक्रमण देखिएको छ । कोरोना संक्रमणका कारण जापानमा हालसम्म १७४ जनाको मृ’त्यु भएको छ ।

अमेरिका र युरोपको तुलनामा जापानमा कोरोना संक्रमणको संख्या अझै पनि तुलनात्मक रूपमा सानो छ, तर स्वास्थ्य परीक्षणको संख्या नै कम भएकाले पनि वास्तविक विवरण ठम्याउन कठिन भएको बताइन्छ ।

विज्ञहरुले जापानमा कोरोना संक्रमितको संख्या अझ ठूलो हुन सक्ने दाबी गरेका छन् । जापानले अन्ततः टोकियो र अन्य ठाउँमा अतिरिक्त परीक्षण केन्द्रहरू स्थापना गर्न सुरु गरेको छ ।

पछिल्ला दिनहरुमा उपचारमा प्रभावकारिता ल्याउन प्राथमिक उपचार चिकित्सकहरूलाई संदिग्ध बिरामीहरूलाई सिधै परीक्षण केन्द्रहरुमा पठाउन अनुमति दिइएको छ । विज्ञहरूले संक्रमित व्यक्तिहरु पत्ता लगाउन विगतमा अपनाइएको रणनीति सफल नभएकाले परीक्षणलाई व्यापक बनाउन सुझाव दिएका छन् ।

प्रधानमन्त्री शिन्जो आबेले बिहीबार टोकियो र छ वटा शहरी क्षेत्रहरूमा मात्र सीमित राखिएको आपतकालको अवस्था देशव्यापी बनाइएको घोषणा गरेका थिए । जापानका अस्पतालहरुमा संक्रमित व्यक्तिको संख्या दिनहुँ बढ्न थालेपछि प्रधानमन्त्री आबेले आपतकाल घोषणा गरेका हुन् ।

जनवरीको मध्यमा पहिलो घटना पत्ता लागेदेखि यता संक्रमित व्यक्तिको संख्या एक हजार पुग्न दुई महिना लागेको छ । तर संक्रमणको प्रसार पछिल्ला हप्ताहरूमा तिब्र रुपमा बढेको छ र १० दिनभित्रै यो संख्या ५ हजारबाट दोब्बर भएको छ ।

प्रतिक्रिया