कोरोनाका कारण मातातीर्थ मेला स्थगित

admin

काठमाडौं, ९ बैशाख : प्रत्येक वर्ष बैशाख कृष्ण औँसीका दिन चन्द्रागिरि नगरपालिकाको मातातीर्थमा जन्म दिने आमाप्रति श्रद्धास्वरुप तर्पण, पिण्डदान, श्राद्ध गर्न लाग्ने मेला नहुने भएको छ ।

कोरोना भाइरसको सङ्क्रमणबाट बच्न जारी बन्दाबन्दीका कारण मेला स्थगन गरिएको नगरपालिकाका प्रमुख घनश्याम गिरीले जानकारी दिए ।

मातृ सम्मान दिवसका रूपमा मनाइने यस पर्वका अवसरमा आमा हुनेले घरमै मीठा चिजबिज खान एवं नयाँ कपडा लगाउन दिएर मनाउँछन् । सम्मान भाव प्रकट गरी मनाउँछन् ।

आमा नहुनेहरु भने राजधानीको पश्चिमी भेगमा रहेको मातातीर्थमा गई श्राद्ध, तर्पण, सिदादान गरी यो पर्व मनाउने प्राचीन परम्परा छ । बैशाख कृष्ण औँसीका दिन यहाँ लाखौँ भक्तजनको भीड लाग्ने गर्छ ।

मातातीर्थ कुण्डमा स्नान गरी आमाको नाममा तर्पण, पिण्डदान एवं श्राद्ध गरेमा पुण्य प्राप्त हुने धार्मिक विश्वास छ । कुण्डमा दिवङ्गत आमाको मुखसमेत देखिने विश्वाससमेत भक्तजनमा छ । स्थानीयवासीलाई समेत मन्दिरमा गएर भीडभाड नगर्न भनिएको नगर प्रमुख गिरीले बताए ।

अवज्ञा गरी हिँड्नेलाई स्थलगतरूपमा रु १०० जरिवाना गरिने नगरपालिकाले जनाएको छ । बन्दाबन्दीमा निस्कनेबाट नगरपालिकाले हालसम्म जरिवानास्वरुप रु ७० हजार सङ्कलन गरिसकेको छ ।

मातातीर्थ संरक्षण समितिको नेतृत्वमा मन्दिरमा नित्यरूपमा हुने पूजाआजा भने जारी रहने उनले बताए । यस वर्ष बैशाख ११ गते बिहीबार आमाको मुख हेर्ने औँसी परेको छ ।

प्रतिक्रिया