आजदेखि एक जिल्लाबाट अर्को जिल्ला जान कडाइ, सबै ई–पास खारेज

admin

काठमाडाैं, १ जेठ: गृह मन्त्रालयले एक जिल्लाबाट अर्को जिल्ला जाने गरी जारी भएका सबै ई–पास आज देखि लागू हुने गरी खारेज गरेको छ। पास नभई सवारी आवागमन गरे अर्को जिल्ला पुग्नु अगावै रोक्न गृह मन्त्रालयले निर्देशन दिएको छ।

यसअघि पास प्राप्त भएपछि निर्बाध रुपमा एक जिल्लाबाट अर्को जिल्लामा जान पाउने व्यवस्थालाई रोक्दै मन्त्रालयले आवतजावतमा कडाइ गरेको हो। मन्त्रालयका प्रवक्ता केदारनाथ शर्माले एक जिल्लाबाट अर्को जिल्लामा मानिसहरुको अनावश्यक प्रवेश भएको र उपत्यकामा समेत भीडभाड बढेको भन्दै यस्तो निर्णय गरिएको जानकारी दिए।

कुनै जिल्लामा जानैपर्ने अवस्था आएमा जुन जिल्लामा जानुपर्ने हो त्यही जिल्ला प्रशासन कार्यालयको स्वीकृति अनिवार्य गरिने भएको छ। काठमाडौँ उपत्यका आउनुपरेमा गृह मन्त्रालयको स्वीकृति आवश्यक पर्नेछ। यस्तै सरकारले सञ्चालनको अनुमति दिएका सवारीको हकमा परिचयपत्र देखाएर जाने गरिएकामा आजबाट भने नियामक निकायबाट जारी हुने पास अनिवार्य गरिएको छ।

मुलुकमा पछिल्लो समयमा बढी मात्रामा सङ्क्रमित व्यक्ति पहिचान हुन थालेपछि मानिसको आवतजावतमा कडाइ गर्नुपर्ने आवश्यकताका कारण यस्तो निर्णय गरिएको गृह मन्त्रालयले जनाएको छ। यद्यपि यसअघि सञ्चालन भइरहेका अत्यावश्यक मालसामान ओसारपसार गर्ने र स्वास्थ्योपचारको सिलसिलामा हुने आवागमन भने कायमै राखिएको छ।

प्रतिक्रिया