दैनिक एक हजारको पिसीआर जाँच गर्दैछौँ–मन्त्री रावल

राष्ट्रिय समाचार समिति

सुर्खेत, २६ जेठ: कर्णाली प्रदेशका सामाजिक विकासमन्त्री दल रावलले दैनिक एक हजार नागरिकको पिसीआर प्रविधिबाट कोरोना परीक्षण गर्ने तयारी भइरहेको बताउनुभएको छ । कर्णाली प्रदेशसभाको प्रदेश मामिला तथा विधायन समितिको आज बसेको बैठकमा उहाँले हाल दैनिक ३०० जनाको परीक्षण भइरहेकामा अब नयाँ मेसिन जडान गरेर एक हजार जनाको पिसीआर परीक्षण गर्ने बताउनुभयो ।

समितिले मन्त्री रावललाई बैठकमा बोलाएर कर्णालीमा कोरोना सङ्क्रमण, जोखिमको अवस्था, नियन्त्रण प्रयास, पिसीआर जाँच, स्वास्थ्यकर्मीको अवस्थालगायतका विषयमा छलफल गरेको हो । प्रदेशसभा सदस्यहरुको प्रश्नको जवाफ दिँदै उहाँले सुर्खेतमा जडान गर्ने गरी पिसीआर मेसिन खरीदको प्रक्रिया शुरु भइसकेको जानकारी दिनुभयो ।

मन्त्री रावलले टेकुको केन्द्रीय प्रयोगशालाको भन्दा प्रदेशहरुमा पिसीआर जाँच बढी कर्णालीमै हुने गरेको तथ्याङ्क प्रस्तुत गर्नुभयो । “कर्णाली प्रदेशले हालसम्म १० हजार १८४ जनाको पिसिआर जाँच गरेको छ”, उहाँले भन्नुभयो, “नौ हजार १२४ जनाको नतिजा नेगेटिभ र ६.३४ प्रतिशतमा कोरोना सङ्क्रमण देखिएको छ, २२ हजार ९०५ को दु्रत विधिको आरडिटी परीक्षण गरिएको छ ।”

बैठकमा मन्त्री रावलले २७ स्थानीय तहमा ५०÷५० बेडका आइसोलेशन वार्ड स्थापनाको कार्य पनि अघि बढाइसकेको जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “सल्यान जिल्ला अस्पतालमा आइसोलेशन वार्ड स्थापना भइसकेको छ, अन्य स्थानमा पनि बन्दैछन्, सङ्क्रमितलाई आइसोलेशनमा राखेर नतिजा नेगेटिभ आएपछि मात्र घर पठाउन निर्देशन दिइएको छ ।” कर्णालीमा ६४ प्रतिशत स्वास्थ्यकर्मीको दरबन्दी रिक्त रहेकाले कोरोना नियन्त्रणमा समस्या भएको उहाँको भनाइ थियो ।

समितिका सदस्य धर्मराज रेग्मीले दैलेख कोरोनाको ‘रेड जोन’ बनिसक्दा प्रदेश सरकारले चिकित्सकसहित स्वास्थ्यकर्मी पठाउन नसकेको बताउनुभयो । समितिका सदस्यहरुले पिसीआर मेसिन खरिद गर्न ढिला गर्दा परीक्षण नभएर नागरिकको मृत्यु हुने गरेको गुनासो गरेका थिए । समितिका सदस्य मिनासिं रखालले एम्बुलेन्स खरिद तथा स्वास्थ्यकर्मी नियुक्त गर्ने तयारी के छ भनी प्रश्न गर्नुभयो । जवाफमा मन्त्री रावलले अवस्था अटिल बन्दै गए कम्तीमा २५० स्वास्थ्यकर्मी करारमा लिन सकिने गरी मन्त्रालयले गृहकार्य गरिरहेको बताउनुभयो ।

प्रतिक्रिया