वर्षेनी विकराल बन्दै बालविवाह

राष्ट्रिय समाचार समिति

डोटी, ११ असार: बालविवाह न्यूनीकरणका लागि यहाँका स्थानीय तहले विभिन्न जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्दै आए पनि पछिल्लो समय जिल्लामा बालविवाह बढ्दै गएको छ ।

बालविवाह रोक्न स्थानीय सरकारले कठोर नीति अख्तियार गरेपनि पछिल्लो समय जिल्लामा बालविवाह घट्नुको साटो बर्सेनि बढ्दै गएको हो । बालविवाह न्यूनीकरणका लागि स्थानीय तहले बर्सेनि लाखौँ रकम खर्च गरे पनि बालविवाह रोक्न सकिएको छैन् ।

बालविवाह गरेकै कारण कयौँ डोटेली चेलीहरुले अकालमै ज्यान गुमाइसकेका छन् । पूण्य कमाउने नाममा जिल्लामा बर्सेनि बालविवाह हुने गरेको पाइएको छ । यहाँको दिपायल सिलगढी नगरपालिका–८ लडागडामा मात्रै गएको तीन वर्षको अवधिमा १६३ वटा बालविवाह भएको एक संस्थाको तथ्याङ्कले देखाएको छ ।

जिल्लामा लामो समयदेखि सामाजिक क्षेत्रमा काम गर्दै आएका सामुदायिक विकास केन्द्र (सीडीसी) डोटी नामक एक गैरसरकारी संस्थाले तीन वर्षदेखि गरेको सर्वेक्षणअनुसार यति ठूलो सङ्ख्यामा बालविवाह भएको पाइएको हो । उक्त संस्थाले सार्वजनिक गरेको तथ्याङ्कमा विसं २०७३ मा ३८, विसं २०७४ मा ५६ र विसं २०७५ सालमा ६९ जनाको बालविवाह भएको छ ।

त्यस्तै विसं २०७३ वैशाखदेखि हाल सम्म १३३ जना बालिका र २७ जना बालकको बालविवाह भएको सो संस्थाका सामुदायिक विकास परियोजना जिल्ला संयोजक एकराज बडूले बताउनुभयो । उहाँले भन्नुभयो, “विवाह गर्ने १४ देखि १९ वर्षका धेरै छन्, केहीले लहैलहैमा लागेर त केहीले पूण्य कमाउने नाममा बालविवाह गरेको देखिन्छ ।”

बालविवाह समाज क्षेत्र वा जाति विशेषभन्दा पनि सबैमा समान रहेको पाइएको छ । यसरी पूण्यका नाममा बालविवाह गर्नेमा जनजाति पाँच, दलित ६०, क्षेत्री समुदायमा ९८ जना रहेको उक्त संस्थाले गरेको अनुसन्धानमा देखिएको छ ।

मुख्यतया बालविवाह परिवारको दबाब, मोबाइल तथा इन्टरनेटको प्रयोग, लहैलहैमा, गरिबी, राम्रो घर परिवार पाउँदा, चाँडो बिहे गर्ने मान्यता, मेला पर्वबाट भागेर जाने, भविष्य राम्रो हुने आसामा हुने गरेको पाइएको छ ।

उक्त वडामा हालसम्म परिवारको दबाबले ३१ जना, मोबाइल तथा इन्टरनेटको प्रयोगले ३३, गरिब एक जना, राम्रो घर परिवार पाउँदा सात जना, चाँडो बिहे गर्ने मान्यतामा पाँच जना, मेला पर्वबाट भागेर एक जना, भविष्य राम्रो हुने आसामा एक जना तथा अन्य ८० जना गरी जम्मा १६३ जनाको बालविवाह भएको पाइएको जिल्ला संयोजक बडूले जानकारी दिनुभयो ।

लडागतामा मात्र नभएर बालविवाह गर्नेहरुको जिल्ला भरीको सर्वेक्षण गर्ने हो भने करिब एक हजार भन्दाबढी तथ्याङ्क निस्किन सक्ने दिपायल सिलगढी नगरपालिका–४ का वडाध्यक्ष वीरेन्द्र शाहले बताउनुभयो । उहाँले भन्नुभयो, “सुदूरपश्चिमको पहाडी जिल्लामा सबैभन्दा बढी डोटीमा बालविवाह हुने गरेको छ, तथ्याङ्क निकाल्ने हो भने हजारौँ भेटिने छन्, बालविवाह अन्त्य गर्न निकै चुनौती बन्दै आएको छ ।”

जिल्लामा बालविवाह र बालश्रमिक अन्त्यका लागि यहाँको दिपायल सिलगढी नगरपालिकाले विभिन्न क्रियाकलाप गर्दै आए पनि आफ्नो नगरपालिकामा बालविवाह रोक्न सकेको छैन । दिपायल सिलगढी नगरपालिकाका उपप्रमुख शिवराज खड्काले बालविवाह र बालश्रमिक राख्नेविरुद्ध कडा रुपमा उत्रिने बताउनुभयो । उहाँले भन्नुभयो, “बालविवाह र बालश्रम अन्त्यका लागि हामी विभिन्न काम गर्दै आएका छौँ, बालश्रम राख्ने र बालविवाह गर्नेलाई कानुनी दायरामा ल्याएरै छोडिने छ ।”

जिल्लामा बालविवाहले विकराल रुप लिँदै आएको स्थानीयवासी बताउँछन् । अशिक्षा तथा जनचेतनाको कमी तथा पछिल्लो समय बढ्दै गएको सञ्चार सम्पर्कका कारण पनि जिल्लामा बर्सेनि बालविवाह बढ्न थालेको आफूले पाएको जिल्ला प्रहरी कार्यालय डोटीका प्रमुख तथा प्रहरी उपरीक्षक दलीपसिंह देउवाले बताउनुभयो ।

उहाँले भन्नुभयो, “बालविवाह बढ्नुमा अशिक्षा र जनचेतना त थियो नै, पछिल्लो समय दु्रत गतीमा बढेको सञ्चार सुविधा मोबाइल फोन सेवाका कारण पनि बालविवाह बढ्दै जानथालेको पाइएको छ, बालविवाह रोक्न बालबालिकालाई मोबाइल दिन बन्द गर्नुपर्छ ।”

जिल्लामा सञ्चार क्षेत्रको गलत प्रयोगले गर्दा बालविवाह र अपराधजन्य घटनाले बढी प्रोत्साहन पाएको उहाँको भनाइ छ । जिल्लामा रहेका नौवटै स्थानीय तहले बालविवाह गर्ने गराउनेलाई सरकारी सेवाबाट वञ्चित गराउने निर्णय गरे पनि उक्त निर्णयको बेवास्ता गर्दै बालविवाह गर्ने कार्य जारी रहेको दिपायल सिलगढी नगरपालिका–२ का वडाध्यक्ष राजेन्द्रबहादुर खड्काले बताउनुभयो । उहाँले भन्नुभयो, “बालविवाह गर्ने पुरोहित र अभिभावकलाई कारवाही नगरेसम्म यहाँको बालविवाह अन्त्य हुने छाँटकाँट देखिँदैन, अब बालविवाह गर्ने र गराउने दुवैलाई कारवाही गर्नुपर्छ ।”

प्रतिक्रिया