लकडाउनमा पनि सुस्ताएन खड्काको व्यवसाय, तीन महिना मै डेढ करोडभन्दा बढीको कारोबार

अस्मिता बेल्बासे

काठमाडौं, १२ असार : विश्वव्यापी रुपमा फैलिएको कोरोनाभाइरसका कारण विश्वस्वास्थ्य संकटको स्थितिमा रहिरहँदा नेपालमा पनि झण्डै तीन महिनासम्मको लकडाउनले गर्दा धेरैलाई व्यवसाय चलाउन देखि खर्च टार्न समेत कठिन भएको छ ।

तर, एकजना यस्ता व्यवसायी छन् लकडाउनको समय पनि ज्ञानेन्द्र खड्काको इ-कमर्स कम्पनी सुस्ताएन । उनले गत वर्ष मात्रै उक्त कम्पनी दर्ता गरी सफ्टवेर निर्माणको काम अघि बढाएका थिए । सन् २०२० अप्रिलबाट औपचारिक रूपले कारोबार थाल्ने योजनामा रहिरहँदा त्यही बेला लकडाउन भइदियो ।

सबैले व्यवसाय बन्द गरेर बस्दा खड्काले त्यसैलाई अवसर बनाएर अप्रिल पहिलो साताबाटै काम सुरू गरेका थिए । लकडाउन सुरू हुनासाथ बजारमा खाद्यान्न र तरकारी कसरी डेलिभरी गर्ने निश्चित नभएको र बिहान बेलुकी थोरै समय पसलहरू खुल्ने हुँदा भिडभाडमा किनमेल गर्न डराएको उनी बताउँछन् ।

चार वर्षअघि नै कम्पनीको नाम ‘ग्यापु’ राख्ने भनी जुराएका खड्काले यही मौकामा ‘ग्यापु अनलाइन डटकम’ बाट घर-घरमै खाद्यान्न तथा तरकारी डेलिभरी गरे । यहीबेला उनलाई दुइटा चुनौती थियो ‘सामान दिने बिक्रेता र डेलिभरी गर्ने’ गाडी । उनले रातारात ठूल्ठूला बिक्रेताहरूसँग कुरा गरे । ती सबैले चाहिएजति सामान दिने प्रतिबद्धता जनाए ।

त्यसपछि एउटा होटलमा चारवटा कोठा भाडा लिएर १२ जना कर्मचारीबाट धमाधम अर्डर लिन थाले । अर्डरबमोजिम सामान डेलिभरी गर्न गाडी भने पाइएन । उनले आफ्नै र निकट साथीहरूको गाडी मागेर काम अघि बढाए । विद्युतीय भुक्तानीका लागि आइएमई, खल्ती तथा प्रभु र हिमालयन बैंकसँग सम्झौता गरे ।

उनले सुरूमा खाद्यान्न, तरकारी र फलफूलको अर्डर लिए । यी सामान कालिमाटी, नक्साल र सतुंगलबाट ल्याउँथे । प्याकिङ गर्न कम्पनीसँग प्लास्टिक थिएन । क्यारेटमै हालेर घर-घर पुर्‍याउँथे । लकडाउनमा दैनिक ३०० देखि ५०० सम्म डेलिभरी हुने गरेको उनी बताउँछन् ।

उनका अनुसार अहिले कम्पनीले ६२ वटा बिक्रेता, केही विदेशी कम्पनी तथा सेल्सबेरीसँग सम्झौता गरेको छ भने चार हजारभन्दा बढी थरीका सामान पाइन्छन् । डेलिभरीका लागि सातवटा गाडी भइसके। कुनै पनि बैंकका भिसा, मास्टर, डेबिट कार्ड र मोबाइल बैंकिङ तथा विद्युतीय भुक्तानी प्रणालीबाट पैसा तिर्न सकिन्छ।

जेठ अन्तिमसम्म १३ हजारभन्दा बढी डेलिभरी र डेढ करोड रूपैयाँभन्दा बढीको कारोबार गरेको उनले बताए । उनले भने, ‘यो तीन महिनामा राम्रो सफलता पाएँ। लकडाउनमा त यत्तिको भयो, अरू बेला असफल हुन्छ भन्ने लाग्दैन,’ उनले भने, ‘इ-कमर्स प्लेटफर्ममा दुई-चारवटा कम्पनीबीच मात्र प्रतिस्पर्धा छ । यो नयाँ कम्पनीका लागि अवसर हो।’

अहिले कम्पनीले थानकोटदेखि बनेपासम्म सेवा दिइरहेको छ । लकडाउन पूरै खुलेपछि १ सय २० वटा मुख्य सहरमा डेलिभरी गर्ने योजना बनाएको उनले बताए । दुई साताभित्र मोबाइल एप सार्वजनिक गर्ने तयारीसँगै, विदेश बस्नेले पनि किन्न सक्ने गरी सेवा विस्तार गर्ने योजना रहेको उनले बताए ।

‘हामी विदेशी अनलाइनबाट सामान किन्न सक्छौं भने नेपाली अनलाइनबाट विदेशमा सामान किन पठाउन सक्दैनौं ?’ उनले भने, यो योजनामार्फत् नेपालमा उत्पादित सामान अन्तर्राष्ट्रिय बजारमा प्रवर्द्धन गर्न हाम्रो योजना छ । अर्डर लिने साइटमा नेपाली ब्रान्ड भनेर छुट्टै राख्नेछौं । केही नेपाली ब्रान्डसँग सम्झौता गर्दै छौं । 

उनले धेरैलाई इ-कमर्समा गुणस्तरीय सामान पाइँदैन र महँगो पर्छ भन्ने भ्रम पनि रहेको बताए । गुणस्तरीय सामानका लागि हामी सयौं बिक्रेतासँग डिल गरि चित्तबुझ्दो नभएसम्म अनलाइन प्लेटफार्ममा स्थान नदिने हुँदा बजारभन्दा सस्तो पर्ने उनी बताउँछन् ।

पछिल्लो समय नेपालमा इ-कमर्स व्यापार बढे पनि कानुनी प्रावधान बलियो नभएको उनको भनाइ छ। विश्वका कुनै पनि देशको विकासमा स्टार्ट-अप कम्पनीको ठूलो हात भएकाले सरकारले त्यस्ता कम्पनीलाई विशेष ग्राह्यता दिनुपर्ने उनी बताउँछन् ।

इ-कमर्सबाट हुने कारोबार प्रविधिमा आधारित भएकाले कालोबजारीको सम्भावना कम हुने उनको तर्क छ। यसले अर्थतन्त्रमा टेवा पुग्नुका साथै रोजगारको अवसर बढ्ने उनी सुनाउँछन् । ‘लकडाउनमा कति कम्पनीले कर्मचारी कटौती गरे भन्ने सुनियो, तर हामीले यही बेला २५ जनालाई रोजगारी दिएका छौं,’ उनले भने।

अहिले अमेरिका बस्दैँ आएका उनी अमेरिकाको एक इनर्जी ड्रिंक्स कम्पनीदेखि अनलाइनबाट होटल बुकिङ र एयरलाइन्सको टिकट किन्ने कम्पनीसमेत सञ्चालन गरेको बताउँछन् । पछिल्लो समयमा इ-कमर्सको सम्भावना देखेपछि ‘ग्यापु अनलाइन मार्केट’ सुरू गरेका उनी बताउँछन् ।

प्रतिक्रिया