धार्मिक क्षेत्र खुला गर्न विश्व हिन्दू महासङ्घको माग

admin

काठमाडौं, ९ साउन : विश्व हिन्दू महासङ्घले वैदिक सनातन हिन्दू धर्मावलम्बीको आस्थाका केन्द्र मठ-मन्दिर भौतिक दूरी कायम गरी खोल्ने व्यवस्था मिलाउन सरकारसँग माग गरेको छ ।

महासङ्घका अध्यक्ष रामचन्द्र अधिकारी र महासचिव गणेशप्रसाद न्यौपानेले शुक्रबार जारी गरेको विज्ञप्तिमा अन्य सबै क्षेत्र खुलेकाले पूजाआजा एवं दर्शनले अशुभ मार्गबाट शुभ मार्गमा जान प्रेरित गर्ने आस्थाको केन्द्र मठ मन्दिर पनि खोल्न माग गरेका हुन् ।

अन्य सबै क्षेत्र खुला गरिँदा पनि मठ, मन्दिर, गुम्बा, चैत्य आदि धार्मिकस्थलका मूल ढोकासमेत बन्द गर्नाले महासङ्घलाई आश्चर्यमा पारेको अध्यक्ष अधिकारीले बताए । गत चैत ११ गते र हाल नेपालमा कोरोना भाइरसको अवस्था विश्लेषण गर्न पनि महासङ्घले सरकारको ध्यानाकर्षण गराएको छ ।

मठ मन्दिर पनि भौतिक दूरी कायम गरी खुला गर्न सकिनेतर्फ सरकारले सोच नबनाएकामा महासङ्घले आपत्ति जनाएको छ । सरकारले औपचारिकरूपमा खुला नगरे पनि साउनको सोमबार पशुपतिनाथ मन्दिरलगायत देशभरका शिवालयमा हजारौँ भक्तजनको भीड लागेको थियो ।

राम जन्मभूमि नेपालमै पर्छ भनी प्रधानमन्त्रीले भानुजयन्तीमा सार्वजनिक गरेको वक्तव्यको तथ्य, प्रमाण सार्वजनिक गर्न पनि महासङ्घले माग गरेको छ ।

प्रतिक्रिया