खोलाले बगाउँदा एकैदिन ४ जनाको ज्यान गयो

admin

काठमाडौं, १५ साउन : देशका विभिन्न स्थानमा बुधबार खोलाले बगाएर चार जनाको मृत्यु भएको छ ।

कपिलवस्तुको शुद्धोधन गाउँपालिका-२ भुसडी बस्ने रामशुभग विश्वकर्माका १७ वर्षीय छोरा अजय विकको खोलामा डुबेर बुधबार मृत्यु भएको छ । घरदेखि २ किमी उत्तर पर्ने भुताहा खोलामा नुहाउने क्रममा डुबेर उनको मृत्यु भएको हो ।

झापाको अर्जुनधारा नगरपालिका-४ बागेडाँगीमा मजदुर काम गरी बस्ने संखुवासभा पोखरी घर भएका ३० वर्षीय सुगम राईको सोही ठाउँस्थित डुबे खोलाले बगाई बुधबार मृत्यु भएको छ । दहिझोडा सामुदायिक वनमा श्रीमती र साथीहरूसँग खोला तर्ने क्रममा बगाएपछि उनको मृत्यु भएको हो ।

दाङको तुलसीपुर उपमहानगरपालिका-२ टकियापुर बस्ने घनश्याम भण्डारीका छोरा ३ वर्षीय अनमोल भण्डारीको कुलोले बगाई बुधबार मृत्यु भएको छ । घरबाट हराएका उनी खोजी गर्ने क्रममा घर नजिकैको कुलोले बगाई घरदेखि करिब ३ किमी टाढा कोटलपुर कुलोमा मृत अवस्थामा फेला परेका हुन् ।

बर्दियाको बाँसगढी नगरपालिका-९ दक्षिणटोल बस्ने तेज बहादुर थापाका छोरा १५ वर्षीय बिनोद थापा सोही नगरपालिका-८ झगौरवा नालामा डुबी मृत अवस्थामा बुधबार फेला परेका छन् । घरबाट निस्किएका उनी साँझसम्म घर नआएपछि खोजी गर्ने क्रममा मृत फेला परेका हुन् ।

प्रतिक्रिया