कोरोनाबाट मृत्यु हुनेको संख्या ७५ पुग्यो, आज थप ३८० जनामा संक्रमण

admin

काठमाडौं, २५ साउन : आइतबार कोरोनाभाइरसको संक्रमणबाट थप दुई जनाको मृत्यु भएको र ३८० जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ७५ पुगेको छ भने संक्रमितको संख्या २२,९७२ पुगेको छ । मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार अहिले ६,५४४ जनामा सक्रिय संक्रमण छ भने १६,३५३ जना भाइरसमुक्त भएका छन् ।

शनिबार तीन जनाको मृत्यु भएको थियो भने बिहीबार र शुक्रबार पाँच/पाँच जनाको मृत्यु भएको मन्त्रालयले पुष्टि गरेको थियो । वितेको २४ घण्टामा ८,५१५ जनाबाट सङ्कलित नमुनाको पीसीआर विधिबाट परीक्षण गरिएको मन्त्रालयले जनाएको छ ।

सो अवधिमा ४० जना रोगमुक्त प्रमाणित भएका थिए । अहिले देशभरि क्वारन्टीनमा ११,०३८ जना छन् । अहिले गण्डकी र प्रदेश नं १ मा क्वारन्टीनमा हुनेको संख्या सर्वाधिक छ ।

त्यस्तै जुम्लामा एक बालकसहित थप ६ जनामा कोरोना संक्रमण पुष्टि भएको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानले जानकारी दिएको छ । योसँगै जुम्लामा कोरोनाभाइरस संक्रमण पुष्टि हुनेको संख्या ८२ जना पुगेको छ।

प्रतिक्रिया