निर्माणाधीन गौतमबुद्ध विमानस्थलको दोस्रो टर्मिनल भवनको डिजाइन सार्वजनिक

अस्मिता बेल्बासे

काठमाडौं, ६ असोज : भैरहवामा निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको दोस्रो टर्मिनल भवनको डिजाइन सार्वजनिक भएको छ । पर्यटनमन्त्री योगेश भट्टराईले सामाजिक सञ्जालमा टर्मिनल भवनको डिजाइन गदैं, कस्तो डिजाइन उपयुक्त हुन्छ भनि सुझाव मागेका छन् ।

मन्त्री भट्टराईले विभिन्न शैलीका डिजाइन फेसबुकमा राखेपछि रुपन्देहीका बासिन्दाहरुले टर्मिनल भवनको डिजाइनमा ठूलो आकारको बुद्ध मुर्ति समेट्न सुझाव दिएका छन् । भवनको डिजाइनदेखि अरु काम संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयबाटै भइरहेको छ ।

दोस्रो टर्मिनल भवन हाल बनेको नयाँ टर्मिनल भवनबाट पश्चिमतर्फ र घाँघरा खोला भन्दा पूर्वपट्टि बन्नेछ । उक्त स्थान भैरहवा-लुम्बिनी सडक खण्डको दक्षिणतर्फ सडक छेउमै पर्दछ ।

बौद्ध दर्शनका शिक्षक बुटवलका लक्ष्मण पोखरेलले भैरहवाबाट बुद्ध जन्मस्थल लुम्बिनी जाने सडकछेउमा बन्ने दोस्रो टर्मिनल भवनमा बुद्धको ठूलो मुर्ति पनि समेट्न सके सुनमा सुगन्ध हुने सुझाएका छन् ।

पोखरेलले भने, ‘लुम्बिनी पुग्ने अधिकांश विदेशी पर्यटक यात्रा गर्ने सडकबाट प्रष्ट देखिने ठाउँ भएकाले विशाल बुद्ध मुर्ति राख्दा सकारात्मक छाप पार्न सकिन्छ ।’ टर्मिनल भवन बनाउने स्थानको पर्यटन मन्त्रालयबाट आएको टोलीले माटो परीक्षण गरिसकेको छ ।

राष्ट्रिय गौरवको आयोजनाको रूपमा रहेको विमानस्थलको पहिलो चरणको भौतिक संरचना निर्माण अन्तिम चरणमा पुगेको छ । विमानस्थलको टर्मिनल भवनभित्र ब्यागेज ह्याण्डलिङ, यात्रु सुरक्षा परीक्षण मेसिन, एसीलगायत उपकरण जडान गर्न बाँकी छ ।

विदेशी प्राविधिक र उपकरण समयमै आएको खण्डमा अंग्रेजी वर्ष सन् २०२१ शुरु भएपछि मात्रै विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान सञ्चालनमा आउने अपेक्षा छ । सन् २०१७ डिसेम्बरभित्र निर्माण सक्नेगरी सन् २०१५ मा तत्कालीन प्रधानमन्त्री सुशील कोइरालाले विमानस्थल स्तरोन्नतिको शिलान्याश गरेका थिए ।

एशियाली विकास बैंकको सहुलियतपूर्ण ऋणमा निर्माण भइरहेको यो आयोजनाका लागि दुवै चरणमा गरी ७ अर्ब ३२ करोड रुपैयाँ खर्च हुने आयोजना प्रमुख अधिकारीले बताएका छन् । विमानस्थल निर्माणको काम चिनियाँ कम्पनी नर्थवेस्ट सिभिल एभिएसन कन्स्ट्रक्सन ग्रुपले गरिरहेको छ ।

 

प्रतिक्रिया