यी हुन्, कोरोनाभाइरसबाट संक्रमित विश्व नेता

राष्ट्रिय समाचार समिति

जोहन्सवर्ग, असोज १६ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प कोरोनाभाइरसबाट संक्रमित भएसँगै उहाँपनि कोरोनाभाइरसबाट संक्रमित विश्व नेताहरुको सूचीमा पर्नुभएको छ । यसअघि, अन्य केही देशका राष्ट्र तथा सरकार प्रमुखहरु पनि कोरोनाभाइरसबाट संक्रमित हुनुभएको थियो । उहाँहरुको छोटो चर्चा यहाँ गरिएको छ ।

बेलायतका प्रधानमन्त्री बोरिस जोनसन
बेलायती प्रधानमन्त्री बोरिस जोनसन कोरोनाभाइरसबाट संक्रमित हुने विश्व नेताहरुमध्ये पहिलो हुनुुहुन्छ । उहाँलाई गत अप्रिलमा संक्रमित भएपछि ‘आइसीयू’मै राख्नुपरेको थियो । उहाँलाई अस्पतालमा भर्ना गरेर अक्सिजन नै दिनुपरेको थियो । तर, भेन्टिलेटरको आवश्यकता भने परेको थिएन । उहाँले एकान्तबासमै बसेर पनि केही सीमित व्यक्तिहरुसँग कुराकानी गर्दै आफ्नो कामहरु पनि गर्नुभएको थियो ।

ब्राजिलका राष्ट्रपति जैर बोल्सोनारो
ब्राजिलका राष्ट्रपति जैर बोल्सोनारोलाई गत जुलाईमा कोरोनाभाइरसको संक्रमण भएको थियो । उहाँले संक्रमित भएको बेला मलेरियाविरुद्धको औषधि प्रयोग गरेर कोरोनाभाइरसका लागि मलेरियाविरुद्धको औषधिले काम गर्छ भन्ने सन्देश पनि दिन खोज्नुभएको थियो । त्यो अहिलेपनि अप्रमाणित नै रहेको छ । उहाँले सामाजिक दुरी काम गर्ने, मास्कको प्रयोग गर्नेलगायत मान्यतालाई बेवास्ता गर्ने गर्नुभएको थियो । उहाँ ‘लकडाउन’विरोधी नेताकारुपमा पनि चिनिनुहुन्छ । उहाँको श्रीमती पनि संक्रमित हुनुभएको थियो ।

होन्डुरसका राष्ट्रपति हुवान ओर्लान्डो हर्नान्डेज
होन्डुरसका राष्ट्रपति हुवान ओर्लान्डो हर्नान्डेजलाई गत जुन महिनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको थियो । राष्ट्रपति हर्नान्डेजसँगै उहाँकी आफ्नी श्रीमती र दुईजना सहयोगीमा पनि संक्रमण देखिएको थियो । तर, उहाँमा लक्षण भने सामान्यमात्रै देखिएको उहाँले बताउनुभएको थियो । उहाँले आफूमा संक्रमण भएपनि आफ्नो काम भने विद्युतीय माध्यमबाट गर्नुभएको थियो ।

गुटेमालाका राष्ट्रपति एलेजन्ड्रो गियामाते
कोरोनाभाइरसबाट संक्रमित भएका विश्व नेताहरुको सूचीमा गुटेमालाका राष्ट्रपति एजेन्ड्रो गियामाते पनि हुनुहुन्छ । उहाँलाई गत सेप्टेम्बरमा संक्रमण पुष्टि भएको थियो । आफूलाई कोरोनाभाइरसको संक्रमण पुष्टि भएपछि टेलिभिजन सम्बोधनमार्फत् उहाँले आफूलाई कुनै लक्षणहरु भने नदेखिएको उल्लेख गर्नुभएको थियो । उहाँलेपनि आफू छुट्टै बस्ने र कार्यालयका काम भने गरिरहने बताउनुभएको थियो ।

बोलिभियाका अन्तरिम राष्ट्रपति जेनिन अनेज
बोलिभियाका अन्तरिम राष्ट्रपति जेनिन अनेज पनि कोरोनाभाइरसबाट संक्रमित हुनुभएको थियो । उहाँलाई गत जुलाईमा संक्रमण भएको हो । संक्रमित भएपछि उहाँ ‘आइसोलेसन’मा बस्नुभएको थियो । उहाँले त्यो बेलामा कुनै असजिलो भने महसुस गर्नुभएको थिएन । कोरोनाबाट संक्रमित हुने उहाँ ल्याटिन अमेरिकी तेस्रो राष्ट्रप्रमुख हुनुहुन्थ्यो । त्यसअघि, ब्राजिली राष्ट्रपति बोल्सेनारो र होन्डुरसका राष्ट्रपति हर्नान्डेजमा पनि संक्रमण पुष्टि भएको थियो ।

अनेजको कार्यालयका केही सदस्यहरुमा संक्रमणको पुष्टि भएपछि उहाँको पनि परीक्षण गराउँदा उहाँमा संक्रमण देखिएको हो । बोलिभियामा सरकारका चारजना शीर्ष अधिकारीहरुमा समेत कोरोना संक्रमणको पुष्टि भएको थियो ।

डोमिनिकाका राष्ट्रपति लुइस अबिनाडेर
गणतन्त्र डोमिनिकाका नवनिर्वाचित राष्ट्रपति लुइस अबिनाडेर जुलाईमा कोरोनाभाइरसबाट संक्रमित हुनुभएको थियो । उहाँ आफ्नो चुनाव प्रचारप्रसार अभियानकैक्रममा संक्रमित भइ संक्रमणमुक्त हुनुभएको जनाइएको छ । उहाँले आफ्नो निर्वाचन हुनुअगाडि नै हप्ता लामो आइसोलेसनमा पनि बस्नुपरेको थियो ।

इरानका उपराष्ट्रपति र मन्त्रीहरु
कोरोनाभाइरसको महामारीको मध्यपूर्वको केन्द्रविन्दु बनेको इरानका पनि उपराष्ट्रपति र मन्त्रीहरु कोरोनाभाइरसबाट संक्रमित भएका थिए । देशका वरिष्ठ उपराष्ट्रपति इशाक जाहानगिरि र उपराष्ट्रपति मस्सौमेह इब्तेकरमा कोरोनाभाइरसको संक्रमण भएको पुष्टि भएको थियो । त्यसबाहेक मन्त्रिपरिषद्का अन्य सदस्यहरु पनि संक्रमित भएका थिए ।

यीबाहेक रूसका प्रधानमन्त्री मिखाइल मिसुस्तिन, आर्मिनियाका प्रधानमन्त्री निकोल पसिनयान, बेलायतका राजकुमार चार्ल्सलाई पनि कोरोनाको संक्रमण पुष्टि भएको थियो ।

त्यसैगरी, धेरै देशका सरकार तथा राष्ट्रप्रमुखका श्रीमती तथा परिवारजन र धेरै देशका मन्त्रीसहितका उच्च अधिकारीहरु पनि कोरोनाभाइरसबाट संक्रमित भएका थिए । विश्वव्यापीरुपमा फैलिएको कोरोनाभाइरसका कारण अहिलेसम्म विश्वभरि १० लाख २८ हजार १९६ जनाको मृत्यु भएको छ ।

कोरोनाबाट संसारभरि कुल तीन करोड ४५ लाख १७ हजार ४४६ जना संक्रमित भएका छन् भने तीमध्ये दुई करोड ५६ लाख ८८ हजार ७७२ जना संक्रमणमुक्त भएका छन् । संक्रमित भएकाहरुको संख्याअनुसार हेर्दा सबैभन्दा धेरै संक्रमितहरु अमेरिकामा रहेका छन् । अमेरिकामा अहिलेसम्म ७४ लाख ९४ हजार ६७१ जना संक्रमित हुँदा दुई लाख १२ हजार ६६० जनाको मृत्यु भएको छ ।

त्यसैगरी, संक्रमितहरुको धेरै संख्याका आधारमा भारत, ब्राजिल, रुस, कोलम्बिया, पेरु, स्पेन, अर्जेन्टिना, मेक्सिको र दक्षिण अफ्रिका क्रमशः अग्र १० स्थानमा रहेका छन् ।

प्रतिक्रिया