राष्ट्रपति डोनल्ड ट्रम्प अस्पताल भर्ना

admin

काठमाडौं, असोज १७ : कोरोना संक्रमण पुष्टी भएपछि अमेरिकाका राष्ट्रपति डोनल्ड ट्रम्प उपचारका लागि मेरिल्याण्डस्थित सैनिक अस्पताल भर्ना हुनुभएको छ ।

संक्रमण पुष्टी भएको २४ घण्टा पछि राष्ट्रपति ट्रम्प हेलिकप्टर मार्फत सैनिक अस्पताल पुग्नुभएको रोयटर्सले जनाएको छ । अस्पताल जाने क्रममा उहाँले औपचारिक पोशाकका साथमा मास्क लगाउनुभएको थियो ।

एक भिडियो ट्वीट गर्दै राष्ट्रपति ट्रम्पले आफु स्वस्थ रहेको बताउनुभएको हो । अस्पतालको विशेष कक्षामा उहाँको उपचार हुने ह्वाइट हाउसले जनाएको छ । ७४ वर्षिय ट्रम्पलाई ज्वरो आएका कारण केही औषधी प्रदान गरिएको ह्वाइट हाउसका चिकित्सक सिन पी कोन्लेले जनाएका छन् ।

आगामी नोभेम्बर ३ मा हुने राष्ट्रपति निर्वाचनका दौरान चुनावी प्रचारमा रहेका बखत राष्ट्रपति ट्रम्पलाई संक्रमण पुष्टी भएको हो । संक्रमण पुष्टी भएपछि उहाँको चुनावी कार्यक्रम प्रभावित भएको छ । प्रतिस्पर्धी जोन बाइडेन भने कोरोना रिपोर्ट नेगेटिभ आएपछि आक्रमक रुपमा चुनावी प्रचारमा लाग्नुभएको छ ।

यसैविच, अमेरिकामा हालसम्म कोरोना संक्रमण पुष्टी हुनेको संख्या ७२ लाख २८ हजार २ सय ७३ पुगेको छ । हालसम्म २ लाख ८ हजार ६ सय ४१ जनाले संक्रमणकै कारण ज्या’न गुमाएका छन् । विश्वमा हालसम्म ३ करोड ४४ लाख ७१ हजार २ सय ४ संक्रमित पुष्टी हुँदा १० लाख २५ हजार ८ सय १५ जनाले ज्या’न गुमाएका छन् ।

प्रतिक्रिया