कमानसिंहको मृत्युपछि बदनाम, भ्रष्टाचारविरोधी आन्दोलनमा लागेका कारण कमजोर बनाउन खोजियो : प्रवक्ता श्रेष्ठ

admin

काठमाडौं, २६ मंसिर : सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का प्रवक्ता नारायणकाजी श्रेष्ठले कमानसिंह लामाको घरायसी मामिलासँग जोडेर आफूलाई बदनाम गराउन खोजिएको बताएका छन् । एक अनलाइनपत्रिकासँग कुरा गर्दै नेता श्रेष्ठले कम्युनिस्ट आन्दोलन र नेपाली राजनीतिभित्र भ्रष्टाचारविरोधी आन्दोलनको अगुवाइ गरिरहेकाले त्यसलाई कमजोर बनाउन नियोजितरूपमा षड्यन्त्र गरिएकोरूपमा आफूले बुझेको बताएका छन् ।

पूर्वराजदूत तथा नेकपाका केन्द्रीय सदस्य रहेका लामाले सामाजिक सञ्जालमा मृत्युपूर्व श्रीमतीलाई सम्बोधन गरेर स्ट्याटस लेखेका थिए । स्ट्याटसमा दिवंगत कमानले नाम नतोकिन नेताकै कारण आफ्नो घरबार बिग्रिएको आर्थिकरूपमा डामाडोल बनेको उल्लेख गरेका छन् । को नेता भन्ने लामाले नखुलाए पनि बिहीबार प्रवक्ता श्रेष्ठले हाइड्रो पावरको सेयर विवादमा संवाद गरेको भिडियो बाहिरिएको थियो । नेता श्रेष्ठले आफूलाई आग्रह गरेकाले विवाद मिलाउन गएको बताएका छन् ।

श्रेष्ठसँग लामाले अढाइ करोड रुपैयाँको हिसाब मिलाइदिन आग्रह गरेको अडियो भिडियो सार्वजनिक भएको थियो । त्यसलाई श्रेष्ठले आफ्नो भ्रष्टाचारविरोधी अभियान कमजोर बनाउने षड्यन्त्रका रूपमा चित्रित गरेका हुन् । “जुन अडियो, भिडियो आएको छ, त्यसमा केही कुरा छैन । तपाईंहरू मिल्नुस् मात्रै भनेको छु,” उनले यतिमात्रै भने ।

स्रोतका अनुसार यो सिन्धुपाल्चोकको जुगल गाउँपालिकामा निर्माणधीन याम्बालिङ जलविद्युत् परियोजनाको सेयर मिलानको प्रसङ्ग हो । नेकपाका एक नेताका अनुसार याम्बालिङ हाइड्रो कमानसिंह आफैंले दर्ता गरेका थिए । परियोजना अघि बढ्न सकेन । लाइसेन्ससमेत खारेज हुने अवस्थामा पुगेपछि सुसन कर्माचार्यसँग कुराकानी अघि बढाएका थिए ।

“मलाई जसरी पनि बचाइदिनुपर्‍यो । म बरबाद हुने भएँ । मेरो सात-आठ करोड रुपैयाँ त्यसै डुब्ने भयो भनेर रोइकराइ गरेपछि सुसन कर्माचार्यहरूले कमानसिंहको अढाइ करोडको सेयर लिइदिएका हुन्,” श्रेष्ठनिकट स्रोत भन्छ । “जलविद्युत्को ऋण पनि त्यही बैंकमार्फत् लिएको रहेछ । कमानसिंहका लागि लिएको ऋण नबुझाएसम्म बैंकले हाइड्रोमा लगानी नगर्ने भनेपछि सुसनहरूले चुक्ता गरिदिएछन् । कमानसिंहले बैंकको लोन म आफैं तिर्छु मलाई सेयरको पैसा चाहियो भनेपछि श्रेष्ठले मिलाउने प्रयत्न गरेका हुन् । त्यही भएर ‘तपाईंहरू सबै मेरै परिवारको सदस्य हुनुहुन्छ मिल्नुस्’ भनेका हुन् । मृत्युपछि उहाँलाई बदनाम गराउन खोजियो,” श्रेष्ठनिकट एक नेताको भनाइ छ ।

कमानले करिब तीन करोड ऋण चुक्ता गर्नुपर्ने समस्या देखाएपछि याम्बालिङ हाइड्रो कम्पनी जमानी बसेर बैंकबाट दुई करोड ऋण लिइदिएको स्रोतको प्रस्टीकरण छ । त्यही ऋण मिलान गर्ने विषयमा सुसन कर्माचार्य र कमानसिंहबीच मनमुटाव बढेको र श्रेष्ठले दुई-तीनपटक सहजीकरण गरिदिएको उनीनिकट नेता बताउँछन् । कमानले बैंकको लोन म आफैं तिर्छु सेयर वापतको पैसा चाहियो भनेर श्रेष्ठकहाँ बारम्बार पुग्ने गरेको उनको भनाइ छ ।

यस्तै, जनता समाजवादी पार्टी (जसपा) नेपालका संघीय परिषद् अध्यक्ष तथा पूर्व प्रधानमन्त्री बाबुराम भट्टराईले पनि कमानसिं लामाले आफ्नै नेताबारे लेखेका कुरा निकै गम्भीर भएको बताएका छन् ।

भनिन्छ, मृत्युशैय्यामा रहेको मान्छेले झुटो बोल्दैन तसर्थ मृत्यु अघि लामाले लेखेका कुरा निकै मार्मिक रहेको उनले बताए । शुक्रबार ट्विट गर्दे नेता भट्टराइले जतिसुकै तर्करकुतर्क गरेपनि नैतिक पतनको प्रश्न देशको शीर्ष नेतृत्वमा रहने जुनसुकै व्यक्तिका निम्ति क्षम्य हुनै नसक्ने बताएका हुन् ।

प्रतिक्रिया