कतारमा भोलिदेखि कोरोना विरुद्धको खोप लगाउन सुरु

admin

एजेन्सी, ७ पुस : नेपालीको मुख्य श्रम गन्तव्य कतारमा पहिलो पटक कोरोना भाइरस विरुद्धको खोप आइपुगेको छ । फाइजर र बायो एनटेक कम्पनीको भ्याक्सिन सोमबार राती हमाद इन्टरनेशनल विमानस्थलमा आइपुगेको दोहा न्युजले जनाएको छ ।

कतार सरकारले मंगलबार २३ डिसेम्बरदेखि निःशुल्क रुपमा खोप लगाउने अभियान सुरु गर्नेछ । पहिलो चरणमा निःशुल्क रुपमा वृद्धवृद्धा र फ्रन्टलाइनमा काम गर्नेलाई खोप लगाउने कतारको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

७० वर्ष नाघेका दीर्घरोगी र स्वास्थ्य क्षेत्रमा काम गर्ने मुख्य कर्मचारीहरु जसले कोरोना संक्रमितको नजिक भएर काम गरेका छन् उनीहरुलाई प्राथमिकतामा राखेको छ । छनोटमा परेका व्यक्तिहरुलाई फोन र एसएमएसमार्फत जानकारी दिएर खोप लगाउन बोलाउने कतारले जनाएको छ ।

कतारले २०२१ भित्रमा आफ्नो देशमा रहेका सबैलाई कोरोना भाइरस विरुद्धको खोप लगाउने रणनीति अनुसार अघि बढे पनि अहिले सीमित संख्यामा भ्याक्सिन आएकाले प्राथमिकताको आधारमा दिइने जनाएको छ ।

यो कम्पनीको भ्याक्सिन अमेरिका, बेलायत, क्यानडाजस्ता देशले प्रयोगमा ल्याइसकेका छन् । जसले यो खोप लगाएका छन् उनीहरुमा एकदमै कम मात्रमा साइड इफेक्ट भेटिएको छ । कोरोना महामारी संसारभरीका देशमा फैलिएको छ ।

बेलायतमा नयाँ खालको संक्रमण देखिने थालेको छ । तर पछिल्लो समय कतारमा भने केही स्थिर देखिएको छ । दिनमा लगभग १५० नयाँ संक्रमित भेटिएको छ । तर पनि कोरोना संक्रमण फैलने क्रम नरोकिएको र खोप आए पनि सचेत रहन कतार सरकारले आग्रह गरेको छ ।

कतारमा झण्डै चार लाख नेपाली कार्यरत छन् । कतारमा संक्रमितमध्ये धेरैजसो आप्रवासी श्रमिक रहेका छन् । कतार सरकारले खोप ल्याएसँगै अब कतारमा रहेका नेपालीले पनि चरणबद्ध रुपमा खोप लगाउन पाउनेछन् । कतार सरकारले त्यहाँ बस्ने हरेक व्यक्तिले निःशुल्क रुपमा कोरोना विरुद्धको खोप लगाउन पाउने यसअघि नै बताएको छ ।

प्रतिक्रिया