नेपाल आयो चिनियाँ टोली, सुरक्षाकर्मी नलिईकन विमानस्थलबाट बाहिरिए चिनियाँ उपमन्त्री

admin

काठमाडौं, १२ पुस : नेपाल कम्युनिस्ट पार्टी (नेकपा) विभाजित बनेको सन्दर्भमा चिनियाँ उच्च अधिकारीको नेपाल भ्रमणमा आएको छ । चिनियाँ कम्युनिस्ट पार्टीको अन्तर्राष्ट्रिय विभागका उपमन्त्री गुओ येझाउ नेतृत्वको टोली आइतबार नेपाल आएको हो । सत्तारुढ नेकपा विभाजित बनेको बेला भएको यो भ्रमणलाई निकै चासोका साथ हेरिएको छ ।

चिनियाँ उपमन्त्री गुओ येझाउ उप-मन्त्रीसहित चार सदस्यीय टोली मध्यान्ह त्रिभुवन विमानस्थलमा अवतरण गरेका हुन् । एयर चाइनाको फ्लाईटमार्फत नेपाल आएका गुओ योझाउको टोली विमास्थलबाट नेपाली सुरक्षाकर्मी नलिईकन निस्केका छन् ।

उपमन्त्रीको टोलीले आफ्नै तरिकाले भेटघाट गर्ने भन्दै सुरक्षा नलिएको गृहमन्त्रालयका एक उच्च अधिकारीले बताए । ‘सुरक्षाबारे दूतावासमा चासो राख्दा अहिले आवश्यक नपर्ने बताउनुभएको छ’ गृहमन्त्रालयका ती अधिकृतले भने-‘भ्रमण तालिका पनि सार्वजनिक गर्नुभएको छैन् ।’

यस्तै, उक्त टोली आउनुअघि नेपालस्थित चिनियाँ राजदूत होउ यान्छीले निकै सक्रियता जनाएकी थिइन् । यान्छीले राष्ट्रपति विद्यादेवी भण्डारी, नेकपाका अध्यक्ष पुष्पकमल दाहाल, शुक्रबार अर्का अध्यक्ष माधवकुमार नेपाल, वरिष्ठ नेता झलनाथ खनाल, पूर्व सभामुख कृष्णबहादुर महारासँग भेटघाट गरेकी थिइन् । गुओ यसअघि सन् २०१८ मा पनि नेपाल आइसकेका छन् । गत महिना चिनियाँ रक्षामन्त्री वेई फेङ्हेले नेपाल भ्रमण गरेका थिए ।

प्रतिक्रिया