इरानमा हिमआँधी : १० जना पर्वतारोहीको ज्यान गयो

admin

 एजेन्सी, १२ पुस : इरानको राजधानी तेहरानको एल्ब्रुज हिमशृङ्खलामा हिम पहिरो र हिम आँधी आएको खबरमा उल्लेख छ ।  हिमपहिरो र हिमआँधीमा परेर १० जना पर्वतारोहीको ज्यान गएको छ भने सात जना हराइरहेका छन् । ज्यान गुमाउनेमा डाक्टर, राजनीतिक विश्लेषक, पर्वतारोहीका गाइडलगायत रहेका स्थानीय सञ्चारमाध्यमलाई उदृत गर्दै बीबीसीले जनाएको छ ।

बीबीसीका अनुसार पर्वतीय यात्रामा निस्किएका र स्की खेल्न गएकाहरू नै हिम पहिरो र हिम आँधीमा परेका हुन् । हिमपहिरो र आँधीमा फसेका १४ जनाको उद्धार भएको छ । हराइरहेका सात जनाको भने खोजी भइरहेको बीबीसीले जनाएको छ ।

सामाजिक सञ्जालमा केही व्यक्तिहरूले पर्वतारोहीहरूले आरोहण गर्दा भर पर्ने जीपीएस प्रणालीमा खराबी आएको सूचना दिएका थिए । तर हिम आँधी र हिमपहिरोमा फसेकाहरू प्रभावित भएका थिएन कि थिएनन् भन्नेबारेमा स्पष्ट भइसकेको छैन ।

पर्वतारोहण र स्की खेल्नका लागि निकै चर्चित यो हिमशृङ्खला पर्यटकको मुख्य आकर्षणमा पर्ने गरेको छ । पहिले नै खराब मौसम र सम्भावित हिमस्खनलको चेतावनी दिइएको थियो ।

प्रतिक्रिया