आज प्रचण्ड-नेपाल पक्ष सहभागी नभएपछि, आयोगले फेरि अर्को बैठक बोलाउने

admin

काठमाडौं, १६ माघ : निर्वाचन आयोगले बोलाएको छलफलमा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को पुष्पकमल दाहाल प्रचण्ड-माधवकुमार नेपाल पक्ष सहभागी नभएपछि फेरि अर्को बैठक आयोजना गर्ने भएको छ ।

निर्वाचन आयोगले निर्वाचन प्रयोजनका लागि दल दर्ता गर्न सूचना प्रकाशन र आयोगले निर्वाचन तयारीका सम्बन्धमा अहिलेसम्म गरेका कामको विषयमा छलफल गर्न भनि नेकपाको दुवै पक्षलाई बोलाएको शुक्रबारको छलफलमा प्रचण्ड-माधव पक्षले सहभागिता नजनाएपछि आयोगले फेरि अर्को बैठक बोलाउने भएको छ ।

शुक्रबार प्रचण्ड-नेपाल पक्षले अध्यक्षद्वय कार्यक्रमको सिलसिलामा उपत्यकाबाहिर रहेको र छलफलमा अध्यक्ष स्वयं उपस्थिति हुन चाहेको भए पनि १८ गतेसम्म उपस्थिति हुन नसक्ने औपचारिक पत्रसाथ जानकारी गराएको निर्वाचन आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले जानकारी दिएका छन् ।

नेकपा केपी शर्मा ओली पक्षको तर्फबाट नेता सुवासचन्द्र नेम्वाङसहित नेपाल सरकारका मन्त्रीहरूको उपस्थितिमा निर्वाचन आयोगका प्रमुख आयुक्त तथा आयुक्तहरूसँग अनौपचारिक छलफल गरिएको उनको भनाइ छ ।

छलफलमा प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाबाट आयोगले चुनावको तयारीको सम्बन्धमा अहिलेसम्म गरेका प्रगतिको बारेमा जनकारी गराएको र निर्वाचन आयुक्त ईश्वरीप्रसाद पौड्यालले तोकिएको मितिमा चुनाव सम्पन्न गर्न आयोगले तयारी गरेको तथा चुनाव सम्पन्न गर्न राजनीतिक दलबाट आयोगले सहयोगको अपेक्षा गरेको बताएको प्रवक्ता श्रेष्ठले जानकारी दिए ।

आयुक्त पौड्यालले चुनाव सम्पन्न गर्नका लागि राजनीतिक दलहरूबाट उपयुक्त राजनीतिक वातावरण सिर्जना हुनुपर्ने भन्दै त्यसको जिम्मेवारी राजनीतिक दलको नै भएको स्पष्ट पार्नुभएको प्रवक्ता श्रेष्ठको भनाइ छ । आयोगले अर्को बैठक उपयुक्त समयमा बोलाउने आयुक्त पौडेलले बताएको प्रवक्ता श्रेष्ठले जानकारी दिए ।

प्रतिक्रिया