२८ करोड रुपैयाँ बराबरको मल काम नलाग्ने भयो

राष्ट्रिय समाचार समिति

पर्सा, २१ माघ : साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडले तेस्रो देशबाट आयात गरि नेपाल भित्र्याएको छ हजार ६ सय मेट्रिक टन रासायनिक मलमध्ये २८ करोड मूल्य बराबरको छ हजार दुई सय ५० मेट्रिक टन मल भिजेर काम नलाग्ने भएको छ । गएको भदौ ६ गते वीरगञ्जको सिर्सियामा रहेको सुक्खा बन्दरगाह भन्सार कार्यालयमा आएको पाँच महिना भइसक्दा सबै मल पानीले भिजेर डल्ला परेकाले भन्सार जाँच पास हुन सकेको छैन ।

२८ करोड रुपैयाँ मूल्य बराबरको एक लाख २५ हजार बोरा रहेको मल काम नलाग्ने भएपछि यसको जिम्मेवारी कर्पोरेशनले लिन नसक्ने क्षेत्रीय प्रबन्धक अमोज लामिछानेले बताए । कम्पनीले आयातकर्ता स्वीस सिङ्गापुरमार्फत त्यो मात्रामा मल मगाएको हो । त्यो मल सुक्खा बन्दरगाह भन्सार कार्यालयको ‘यार्ड’ मा यत्रतत्र छरिएको अवस्थामा छ ।

त्यस मलको आपूर्तिकर्ता स्वीस सिङ्गापुरमार्फत साल्ट ट्रेडिङ कर्पोरेशनले भारतको कोलकाता बन्दरगाहबाट रेलमार्ग भएर वीरगञ्जको सुक्खा बन्दरगाह यार्डमा ल्याएको हो तर ती मल भिजेको र डल्लो परेकाले भन्सार जाँच पास गर्न अयोग्य भएको भनेर जाँच पास हुन सकेको छैन ।

सिङ्गापुर पानीजहाजमार्फत भारतको कोलकाता बन्दरगाहमा ल्याइ पुर्‍याइउको र त्यहाँ राखिएको अवस्था असार–साउनतिर बङ्गालको खाडीमा आएको आँधीका कारण मल भिजेको हुन सक्ने प्रमुख लामिछानेले भने, ‘भिजेकै अवस्थामा रेलमार्गबाट वीरगञ्ज आएकाले त्यसको जिम्मा नेपाल सरकार र कर्पोरेशनले जिम्मेवारी लिँदैन ।’

भिजेको र डल्लो परेको ती मलको सम्पूर्ण जिम्मेवारी आयातकर्ता स्वीस सिङ्गापुरले लिनुपर्ने र ती मलको भुक्तानी भने सरकार तिर्न नसकिने बताइएको छ । भिजेर बिग्रिएको अवस्थामा ती मल आएकाले जाँच पास हुन नसकेको भए पनि कुनै प्रयोजनका लागि प्रयोग योग्य भएमात्र जाँच पास गरिने सुक्खा बन्दरगाह कार्यालयका प्रमुख भन्सार अधिकृत लालबहादुर खत्रीले बताए ।

ती रासायनिक मल खुला आकाशमुनि रेल्वे लिक वरिपरि, गोदाम एवं यार्डमा जही तहीँ छरिएको अवस्थामा रहेकाले यार्डभित्र अन्य सामान राख्न समस्या परेको बताइएको छ । ठूलो परिमाणमा रासायनिक मल भएकाले त्यसलाई नष्ट गर्न समस्या हुने, अयोग्य मालवस्तुको जाँच पास गर्न कानुनी प्रावधान नभएकाले त्यस्ता मललाई नष्ट गर्ने प्रक्रिया अघि बढाइएको कार्यालयले जनाएको छ ।

नेपाल सरकारको प्रति बोरा एक सय ३२ रुपैयाँ २० पैसा अनुदान रकममा आयात भइ नेपाल भित्रिएको ती मल भिजेर डल्ला परेकाले किसानसम्म पुग्न सकेन । डलरमा प्रतीत पत्र खोलेर तेस्रो देशबाट मल ल्याइएकाले नेपाल राष्ट्र बैंकको नियमअनुसार नेपालमा मालसामान आइपुगेको देखाउनुपर्ने कानुनी प्रावधान रहेकाले भिजेको मल भारतको कोलकाता बन्दरगाहबाटै नफर्काइ आयात गरिएको बताइएको छ ।

प्रतिक्रिया