नेपालमा ठूलो पानी पर्ने सम्भावना घट्यो : मौसमविद्

admin

काठमाडौं, २३ माघ : नेपालमा प्रवेश गरेको पश्चिमी न्यून चापीय प्रणालीको हावा मडारिएर हिमाली क्षेत्र हुँदै चीनतर्फ लागेपछि नेपालमा ठूलो पानी पर्ने सम्भावना घटेको छ । लामो समयदेखि पानी नपर्दा सुख्खा बढेका बेला पश्चिमी न्यून चापीय प्रणालीले नेपालमा पानी पार्ने आशा बढेको भए पनि हावा चीनतर्फ मडारिएकाले पानी पर्ने सम्भावना कम भएको मौसमविद् निराजन सापकोटाले बताए ।

अहिले देशभरको उच्च पहाडी तथा हिमाली क्षेत्रमा सामान्यदेखि मध्यम खालको हिमपात र काठमाडौं उपत्यकासहित पश्चिम पहाडमा सामान्य पानी परेको छ । हावा हिमाली क्षेत्रतर्फ केन्द्रित भएकाले (आज) शुक्रबार राति पनि हिमपातको सम्भावना रहेको मौसमविद् सापकोटाले बताए । तर पहाडी क्षेत्रमा भने शुक्रबार पश्चिमबाट मौसम खुल्दै आएको छ ।

शुक्रबार बेलुकीबाट पश्चिम हुँदै काठमाडौंसम्मको मौसम खुल्ने र शनिबार काठमाडौं उपत्यकाबाट पूर्व प्रदेश १ को पहाडी क्षेत्रमा बदली भइ सामान्य पानी पर्ने उनले बताए । तर पूर्वमा पनि पानी सामान्यमात्र पर्ने र शनिवार बेलुकाबाट मौसम खुल्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

अहिले तराईमा पनि सामान्य बादल लागेको छ । तर शुक्रबार पश्चिम पहाडबाट मौसम खुल्दै शनिबार बेलुकासम्म तराईका सबै ठाउँमा मौसम खुल्ने मौसमविद् सापकोटाले बताए । हिमाली क्षेत्रमा हिमपात भए पनि पहाड तथा तराईमा वर्षा भने सोचे जति नहुने उनको भनाइ छ ।

प्रतिक्रिया