लैङ्गिक रूपमा विभेद, टोकियो ओलम्पिकका प्रमुख योशिरो मोरीले राजीनामा दिँदै

राष्ट्रिय समाचार समिति

काठमाडौं, ३० माघ : टोकियो ओलम्पिकका प्रमुख योशिरो मोरी महिला अधिकारीबारे गरेको टिप्पणीका कारण जापान र विदेशमा आक्रोश व्यक्त गरिन थालेपछि राजीनामा दिने मनस्थितिमा पुगेका छन् ।

उनले ‘महिलाहरू बैठकमा बढी बोल्छन्’ भनी गरेको अभिव्यक्तिलाई लैङ्गिक रूपमा विभेदकारी रहेको भन्दै राजनीतिक वृत्तमा आलोचनापछि राजीनामा दिने मनस्थिति बनाएका जापानी सञ्चारमाध्यममा उल्लेख गरिएको छ ।

उनको महिलाबारेको त्यस टिप्पणी आयोजकहरूको लागि पछिल्लो समय टाउको दुखाइको विषय बनेको थियो । महामारीको बावजुद जापानले यसै गृष्म ऋतुमा ओलम्पिक खेल आयोजना गर्ने योजनाबीच ओलम्पिक समितिले उनको अभिव्यक्तिलाई लिएर सार्वजनिक असन्तुष्टिको सामना गरिरहेको छ ।

८३ वर्षीय मोरीले शुक्रबार खेल आयोजकहरूको एक बैठकमा आफ्नो राजीनामाको घोषणा गर्ने तयारी गरेका जापानी सञ्चारमाध्यमहरूले लेखेका छन् । उनको सबैभन्दा बढी सम्भावित उत्तराधिकारीका रूपमा ८४ वर्षीय सबुरो कावाबुचीलाई अघि सारिने पनि समाचारहरूमा उल्लेख छ ।

जापानका पूर्व प्रधानमन्त्रीसमेत रहेका मोरीले जापानी ओलम्पिक समितिका सदस्यहरूलाई आफूले गएको हप्ता गरेको टिप्पणीका कारण यो निर्णय लिन दबाब परेको बताइएको छ । उनले लैङ्गिक विभेद सिर्जना गर्ने अभिव्यक्तिका लागि माफी मागे पनि महिलासँग आफू धेरै बोल्न नचाहने बताएका कारण समस्या थप जटिल बनेको थियो ।

प्रतिक्रिया