अस्पतालहरुको स्वास्थ्य परीक्षण शुल्क बढ्यो

admin

काठमाडौं, ५ फगुन : अस्पतालको बहिरङ (ओपिडी) शुल्क वृद्धि भएको छ । नेपाल चिकित्सक संघ र एसोसिएसन अफ प्राइभेट हेल्थ इन्ष्टिच्युसन नेपाल (अफिन)को बुधबार बसेको बैठकले स्वास्थ्य परीक्षण शुल्क बढाउने निर्णय गरेको हो ।

बैठकले चिकित्सकले बिरामी जाँच गरेवापत लिन पाउने परामर्श शुल्क बढाउने निर्णय गरेको अफिन र चिकित्सक संघद्वारा जारी गरिएको सूचनामा उल्लेख गरिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयसँग अफिन र चिकित्सक संघले माघ ४ गते गरेको सहमतिका आधारमा ओपिडी शुल्क बृद्धि गर्ने निर्णय गरेको हो ।

ओपिडीमा चिकित्सकको अनुभव र योग्यताका आधारमा ३ सय ७० देखि ८ सय २५ सम्म शुल्क लिन पाउने गरी निर्णय गरिएको हो । नेपाल राष्ट्र बैंकको मुद्रा स्फ्रिती तथा शुल्क परामर्श समितिको सिफारिसका आधारमा शुल्क तोकिएको जनाइएको छ । नयाँ शुल्कअनुसार ५ वर्षभन्दा कम अनुभव भएका एमबीबीएस र बिडिएस डाक्टरले ३ सय ७०, ५ वर्ष भन्दा माथिकाले ४ सय ५० रुपैयाँ ओपिडी शुल्क लिन पाउने छन् ।

त्यस्तै एमबीबीएस र बीडीएस पास भएर डिप्लोमा तालिम लिएका तर ५ वर्षभन्दा कम अनुभव भएकाले ५ सय १५ र ५ वर्षभन्दा बढी अनुभव भएकाले ५ सय ९० रुपैयाँ शुल्क लिन पाउँछन् । १० वर्षभन्दा बढी अनुभव भएका एमडी, एमएस र एमडिएस डाक्टरले ८ सय २५ रुपैयाँ शुल्क लिन पाउने सूचनामा उल्लेख छ ।

प्रतिक्रिया