चुनावका लागि आन्तरिक तयारी पूरा, फागुन २१ गते मतदाता नामावली प्रकाशन गरिने

admin

काठमाडौं, ७ फागुन : प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले बैशाख १७ र २७ गते हुने चुनावका लागि आन्तरिक तयारी पूरा भएको बताएका छन् । शुक्रबार पाँचौँ निर्वाचन दिवसका अवसरमा शुभकामना सन्देश व्यक्त गर्दै प्रमुख निर्वाचन आयुक्त थपलियाले आउँदो चुनावका लागि आन्तरिक तयारी पूरा गरेको बताएका हुन् ।

उनले भने, ‘आउँदो चुनावको सिलसिलामा पनि हामीले आन्तरिक तयारी लगभग पूरा गरेका छौँ । यही फागुन २१ गते सबै मतदाता नामावलीको नाम प्रकाशन गरिनेछ । देशभरि मतदानस्थल र मतदान केन्द्रहरूको निधो गरिनेछ । त्यसलगत्तै हाम्रा चुनावका कार्यक्रम अगाडि बढ्नेछन् । हामीले यो वर्ष चुनावमा मिडिया क्षेत्रको भूमिका र विशेषतः सामाजिक सञ्जाललाई पनि प्रभावकारी ढङ्गले प्रयोग गर्नुपर्छ भन्ने ध्येयले सामाजिक सञ्जालको उपयोगसम्बन्धी नीति नै तर्जुमा गरेका छौँ । रणनीति तर्जुमा गर्ने प्रक्रियामा छौँ । चुनावका सामाग्रीको आन्तरिक बन्दोबस्त भइसकेको छ । बाह्य रूपमा उपलब्ध गराउनुपर्ने सामग्रीहरूको खरिद योजना तयार गरिएको छ भने विभिन्न किसिमका तालिम, कार्यक्रमका निम्ति आवश्यक सामग्रीहरू तयार गरी अगाडि बढिराखेका छौँ ।’

चुनाव कुनै पनि किसिमको स्रोत, साधन, पहुँच र शक्तिबाट प्रभावित हुनु हुँदैन र चुनाव निष्ठा, विचार र सिद्धान्तबाट निर्देशित हुनुपर्ने कुरामा आयोग सधैँ अडिग रहेको पनि प्रमुख निर्वाचन आयुक्त थपलियाले बताए । चुनाव खर्चिलो र भड्किलो बन्दै गएकोप्रति निर्वाचन आयोगको गम्भीर ध्यानाकर्षण भएको पनि उनको भनाइ छ । आउँदो चुनावलाई मितव्ययी बनाउनका लागि आयोग सचेत रहेको बताए ।

उनले भने, ‘चुनाव कुनै पनि किसिमको शक्ति, स्रोत, साधन र पहुँचबाट प्रभावित हुनु हुँदैन । चुनाव निष्ठा, विचार र सिद्धान्तबाट निर्देशित हुनुपर्दछ भन्ने कुरामा निर्वाचन आयोग सधैँ नै अडिग रहेको छ । यसअनुसार प्रत्येक चुनाव अलि खर्चिलो र भड्किलो बन्दै गएकोप्रति निर्वाचन आयोगको गम्भीर रूपले ध्यानाकर्षण भएको छ । त्यसकारण हामी आउँदो चुनावमा आचारसंहिताको माध्यमबाट चुनावलाई कसरी मितव्ययी, कम खर्चिलो र प्रभावकारी ढङ्गले लान सकिन्छ भन्ने विषयमा सचेत छौँ ।’

प्रमुख निर्वाचन आयुक्त थपलियाले निर्वाचन आयोगको मूल ध्येय स्वतन्त्र, निष्पक्ष, पारदर्शी र मितव्ययी ढङ्गले चुनाव सम्पन्न गराउने रहेको उल्लेख गर्दै चुनावसँग सम्बन्धित सङ्घ–संस्था, निकाय, व्यक्ति र विशेषगरी राजनीतिक दलहरूको भूमिका अपरिहार्य रहेको बताए । उनले आउँदो चुनावमा अत्यन्त उल्लासमय वातावरणमा जागरुक भइ आफ्नो प्रतिनिधि छान्न आम मतदाता सरिक हुनेमा विश्वाससमेत व्यक्त गरे ।

निर्वाचन आयोगले फागुन ७ गते निर्वाचन दिवस मनाउँदै आएको छ । नेपालमा सर्वप्रथम वि.सं. २०१५ साल फागुन ७ गते मतदाताहरूले आम चुनावमा सहभागी भइ आफ्नो मताधिकार प्रयोग गरेको दिनलाई स्मरण गर्दै वि.सं. २०७३ सालमा निर्णय गरी फागुन ७ गतेको दिनलाई निर्वाचन दिवस मनाउन थालिएको हो ।

प्रतिक्रिया