भत्ताले एकल पुरुषको जीवन सहज

admin

काठमाडौं, फागुन ८ : ललितपुरको बागमती गाउँपालिका–४ स्थित प्युटारका एकल पुरुष बलबहादुर घलेलाई गाउँपालिकाले प्रदान गरेको “एकल पुरुष’ भत्ताले दैनिकी चलाउन सहज भएको छ ।

६३ वर्षीय एकल पुरुष घलेको अन्य कुनै आम्दानीको स्रोत नहुँदा गाउँपालिकाले प्रदान गरेको मासिक एक हजार रुपियाँ भत्ताबाट उनले राहत भएको महसुुस गरेका हुन् । “दैनिक नुन तेल, चियाको गर्जाे राम्ररी टरेको छ”, घलेले भन्नुभयो ।

घलेको १९ वर्षअघि श्रीमतीको मृत्यु भएको थियो । दुई सन्तानका पिता घलेकी छोरी विवाह गरी अन्यत्रै गएपछि हाल सम्पर्कमा नभएको र छोरोसमेत पत्ता नलागेको उनले बताए ।

घलेजस्तै गाउँपालिका–३ स्थित भट्टेडाँडाका अर्का एकल पुरुष हरिबहादुर सिञ्जालीले पनि गाउँपालिकाले प्रदान गरेको एकल पुरुष भत्ताले राहत पाएको महसुस गर्नुभएको छ । ६९ वर्र्षीय एकल पुरुष सिञ्जालीकी श्रीमतीको केही वर्षअघि नै मृत्यु भएको र बालबच्चा कोही पनि नजन्मेको उनले बताए ।

“गाउँपालिकाले प्रदान गरेको मासिक एक हजार रुपियाँले चिया खाजा खान सजिलो भएको छ”, उनले भने, “हामीजस्ता एकल पुरुषलाई गाउँपालिकाले भत्ता प्रदान गरेर ठूलो गुन लगाएको छ ।” यो समाचार आजको गोरखापत्र दैनिकमा नगेन्द्र सापकोटाले लेखेका छन् ।

प्रतिक्रिया