एमालेसँग सत्ता सहकार्य गर्न जसपाको कार्यदल, बाबुराम-उपेन्द्र बेखबर

admin

काठमाडौंः नेकपा एमालेसँगको सत्ता सहकार्यका लागि जनता समाजवादी पार्टी (जसपा)ले कार्यदल गठन गरेको छ। आइतबार प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेट्न बालुवाटार पुगेका जसपा अध्यक्ष महन्थ ठाकुर र राजेन्द्र महतोको टोलीले कार्यदल गठन गरेको हो।

कार्यदलमा लक्ष्मणलाल कर्ण र सर्वेन्द्रनाथ शुक्ल रहेका छन्। सत्ता सहकार्यको बारेमा गठन गरिएको कार्यदलमा एमालेका तर्फबाट विष्णु पौडेल र सुवास नेम्वाङ रहेका छन्।

जसपा सांसद रेशम चौधरीलाई रिहाइको शर्तमा सत्ता सहकार्यको कार्यदल गठन गरिएको स्रोतले बतायो। कैलालीको टिकापुर घटनामा दोषी ठहर भइ जन्मकैदको सजाय पाएका चौधरी अहिले जेलमा छन्।

तर, जसपाले कार्यदल निर्माण गरिसक्दासमेत संघीय परिषद् अध्यक्ष डा.बाबुराम भट्टराई र अर्का अध्यक्ष उपेन्द्र यादव पक्षलाई जानकारी नभएको बुझिएको छ। यो समूह प्रधानमन्त्री ओलीसँग रुष्ट छ। अध्यक्ष ठाकुर पक्षले ओलीसँग सहकार्यका लागि सकारात्मक भएपनि भट्टराई र उपेन्द्र यादवपक्ष त्यसको विरुद्धमा उभिएका छन्। सरकारमा जाने बिषयमा जसपा पनि दुई धारमा बाँडिएको छ।

अदालतले नेकपा एमाले र माओवादीलाई ब्यूँताएपछि संसदीय समीकरण बदलिएको छ। प्रतिनिधि सभामा एमालेको १ सय २१, कांग्रेसको ६३, माओवादी केन्द्रको ५३ र जसपाको ३४ सांसद छन्। यी ४ दलबाहेक राष्ट्रिय प्रजातन्त्र पार्टी, राष्ट्रिय जनमोर्चा र नेपाल मजदुर किसान पार्टीसँग १/१ सांसद छन् भने १ स्वतन्त्र सांसद छन्।

अब सरकार गठन गर्नका लागि एमाले र कांग्रेस मिलेर पनि बहुमतको सरकार गठन गर्न सक्छ। यस्तै एमालेले जसपालाई आफ्नो पक्षमा तान्न सक्यो भने पनि सरकार बन्न सक्छ। एमाले र माओवादी केन्द्रबीच सहकार्य जारी रहेकाे खण्डमा पनि सरकार गठन हुनसक्छ।

तर, यो विकल्प अत्यन्त न्यून छ। प्रचण्डले कुनै पनि हालतमा अब ओलीसँग सहकार्य गर्न नसक्ने तर्क गर्दै आइरहेका छन्। ओलीलाई दबाब दिन कांग्रेस, माओवादी केन्द्र र जसपा मिलेर पनि नयाँ सरकार गठन गर्नसक्ने देखिन्छ।

प्रतिक्रिया