चीनको केरुङमा रोकिएका ११ जना नेपाली घर फर्किए

admin

रसुवा, २६ फागुन : चीनको स्वशासित क्षेत्र तिब्बतको केरुङमा रोकिएका ११ जना नेपाली घर फर्किएका छन् । विश्वव्यापी फैलिएको कोरोना भाइरसका कारण रसुवागढी नाकाबाट आवतजावत गर्न रोक लगाइएपछि उनीहरू त्यहीँ रोकिएका थिए । रसुवागढी अध्यागमन कार्यालयका अनुसार रसुवाकी सिता तामाङ, सरोज नेगी, खिरानी घले फर्किएका हुन् ।

पर्साका रजन राम, रोहित कुमार राम, बाल मिक्की महरा, राम किशोर राम, धादिङका लिलासिंङ तामाङ, बाराका राम बहादुर महत्तो, मुकेश प्रसाद कानु र सिन्धुपाल्चोकका बलराम नेपाली घर फर्किएका कार्यालयले जनाएको छ । कामको सिलसिलामा करिब २ वर्षदेखि उनीहरू केरुङमा पुगेका थिए । सिलाई, सुन पसल, सुपर मार्केट, गेष्ट हाउसमा काम गर्ने तथा आफैँले व्यवसाय गरेर बसेकाहरु फर्किएका प्रमुख एकनारायण भण्डारीले बताए ।

‘उहाँहरू एक महिनाअघि कार्यालयको सम्पर्कमा आउनुभएको थियो’, उनले भने, ‘एक महिनाको प्रयासपछि उहाँहरूलाई नेपाल ल्याउन सफल भयौँ ।’ कन्सुलर विभाग मार्फत ल्हासाको महावाणिज्य दूतावाससँग समन्वय गरेर नेपाल फर्काइएको हो । केरुङमा नै कारोना परीक्षण गरेर उहाँहरूलाई नेपाल ल्याइएको हो । २०७६ माघ १५ गतेदेखि नाकाबाट मान्छेको आवतजावत हुन सकेको छैन । चीनबाट आउने सामग्री पनि चिनियाँ गाडीले नेपाली भूभागमा ल्याएर झारिदिने गरेको छ ।

कोरोना देखिनुभन्दा अघि केरुङमा व्यवसाय गरेर बस्ने नेपालीको संख्या धेरै थियो । रसुवागढी नाकाबाट तयारी कपडा, स्याउ, इलेक्ट्रोनिक सामग्री, निर्माण सामग्री, जुत्ता चप्पल, चस्माको फ्रेमलगायतका सामग्री आयात हुने गरेको छ । यस्तै नेपालबाट बाँसको मुडा, काठका सामग्री, हस्तकलाका सामग्री निर्यात हुने गरेको छ । तर पछिल्लो समय चिनियाँ पक्षले निर्यातको लागि अनुमति दिएको छैन ।

प्रतिक्रिया