दलहरुबीच विवाद नमिलेपछि चैत ३ गतेसम्मका लागि स्थगित भयो प्रतिनिधि सभाको बैठक

admin

काठमाडौं, २६ फागुन : संवैधानिक परिषद् सम्बन्धी अध्यादेशमा दलहरुबीच कुरा नमिलेपछि (आज) बुधबारको प्रतिनिधि सभाको बैठक शोक प्रस्ताव पारित गरेर सकिएको छ । बुधबारको बैठकमा सात वटा अध्यादेश पेस गर्ने कार्यसूची रहे पनि दलहरुबीच विवाद नमिलेपछि प्रतिनिधि सभा सदस्य र पूर्व सदस्यको निधनमा प्रस्तुत शोक प्रस्ताव पारित गरेर सकिएको हो ।

File photo

बैठकमा सभामुख अग्निप्रसाद सापकोटाले प्रतिनिधि सभाका दुई जना बहालवाला सदस्य सानु सिवा र सूर्यबहादुर केसी तथा १२ जना पूर्व-सदस्यको निधनमा शोक प्रस्ताव प्रस्तुत गरेका थिए । बुधबारको बैठक शोक प्रस्ताव पारित गरेर चैत ३ गते मंगलबारसम्मका लागि स्थगित भएको छ ।

बैठकअघि विभिन्न ६ वटा अध्यादेश पेश गर्ने सम्भावित कार्यसुची राखिएपनि अन्तिम समयमा परिवर्तन गर्दै शोक प्रस्ताव पारित गर्ने कार्यसुची मात्रै राखिएको थियो । संवैधानिक व्यवस्थाअनुसार प्रतिनिधिसभाको पहिलो बैठकमा अध्यादेशहरू पेश गर्नुपर्ने हुन्छ ।

गत फागुन २३ गतेको बैठकको कार्यसूचीमा अध्यादेश राखिएपछि प्रचण्ड पक्ष, कांग्रेस, जसपाले विरोध गरेका थिए । बुधबार पनि कार्यसूचीमा अध्यादेश टेबल गर्ने तयारी भएपनि संसदीय मामिला तथा कानुन मन्त्रीले कुनै गृहकार्य र समन्वय नगरेको स्रोतले बतायो । पछि दलका नेताहरुले संवोधन गर्ने कार्यसूचीमा सहमति जुटेको थियो तर पछि बोल्न असहमत भएपछि त्यसलाई पनि हटाइएको थियो ।

प्रतिक्रिया