मुस्लिम आयोगद्वारा मुस्कान खातुनलाई सम्मान

admin

काठमाडौं, २६ फागुन : नेपाल मुस्लिम आयोगले मुस्कान खातुनलाई आफ्ना कार्यक्रममा विशेष वक्ताको रूपमा राख्ने भएको छ । खातुनलाई आयोगले आयोजना गर्ने सबै प्रकारका औपचारिक कार्यक्रममा विशेष वक्ताको रूपमा प्रस्तुत गर्ने भएको हो । बुधबार आयोग कार्यालयमा एसिड पीडित खातुनलाई अध्यक्ष समिम मिया अन्सारीले सम्मान गरे ।

सम्मान कार्यक्रममा बोल्दै अध्यक्ष अन्सारीले एसिड आक्रमणविरुद्धको अभियानमा मुस्कानको भूमिका महत्त्वपूर्ण हुने भएकोले विशेष स्थान दिन लागिएको बताए । एसिडले जलेको घाउलाई शक्तिमा बदलेर समाजमा उभिन सक्नु ठूलो साहसको काम भएकाले आयोगले सम्मान गरेको अध्यक्ष अन्सारीले बताए ।

यस्तै सम्मानित खातुनले सबैको सहयोग र सद्भावले आफूले पीडालाई शक्तिमा बदल्न सकेको बताइन् । एसिडविरुद्ध जनचेतना जगाउन काममा सधैँ लाग्ने पनि खातुनले बताइन् । केही दिनअघि अमेरिकी सरकारले जलेको घाउ लिएर समाजमा क्रियाशील भएर कार्य गरिरहेको भनेर खातुनलाई सम्मान गरेको थियो । यस्तै नेपाल सरकारले अन्तर्राष्ट्रिय महिला दिवसका अवसरमा खातुनलाई विशेष सम्मान गरेको थियो ।

प्रतिक्रिया