मैले केपी प्रवृत्तिविरुद्ध जानी बुझी प्रहार गरेको हुँ, म लड्नेवाला छु, छोड्नेवाला छैन : दाहाल

admin

काठमाडौं, २७ फागुन : नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जानी बुझी केपी प्रवृत्तिमाथि प्रहार गरेको बताएका छन् । बिहीबार केन्द्रीय कार्यालय पेरिसडाँडामा नयाँ नमुना स्वास्थ्यकर्मी सङ्घ नेपालको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै दाहालले केपी प्रवृत्तिसँग सम्झौता गरे सबै ध्वस्त हुने खतरा देखेपछि जेल जान र मर्न पनि तयार रहेर प्रवृत्तिमाथि प्रहार गरेको बताएका हुन् ।

केपी प्रवृत्तिविरुद्ध १९ पेजको डकुमेन्ट लेख्दा अर्को जनयुद्धको थालनीको डकुमेन्ट लेखेजस्तो अनुभूति भएको उनको भनाइ छ । देशको राजनीतिक परिवर्तनमाथि षड्यन्त्रले हमला गरिराखेको भन्दै उनले सजग भएर त्यसविरुद्ध लड्नुपर्ने बताए ।

उनले भने, ‘अहिले देशको परिस्थिति अलिकति जटिल छ । चुनौतीपूर्ण छ । केपी प्रवृत्तिकाविरुद्ध १९ पेजको डकुमेन्ट लेख्दा मैले साँच्चै नयाँ परिस्थितिमा फेरि अर्को जनयुद्धको थालनीको डकुमेन्ट लेखेको जस्तो अनुभुति भएको छ ।’ साथै उनले अरूसँग एकीकृत हुँदा आफ्नो साथीहरु छुटेर कमजोर देखिएको भन्दै आउँदो दिनमा पुराना साथीहरुसँग एकताबद्ध गरेर अगाडि बढ्ने बताए ।

उनले भने, ‘आफ्नै साथीहरु छुट्दा, आफ्नै धरातल चाहिँ कमजोर हुँदा हामी अलि कमजोर भएको जस्तो देखिएको पक्कै हो । अहिले फेरि हामी आफ्नो धरतीसँग जोडिने, आफ्नै खुट्टामा उभिने, आफ्नै पुराना साथीहरुलाई एकताबद्ध गर्ने तयारीमा छौं । क्रान्तिकारी विचार र साथीहरुमाथि नै भर परेर मात्रै यो लडाइँ जित्छौँ भन्ने विश्वासले मैले नयाँ जनयुद्ध सुरु गरेको हुँ ।’

अध्यक्ष दाहालले राजनीतिक उपलब्धि र आन्दोलनको रक्षाको निम्ति आफूले देशव्यापी अभियान चलाउने समेत बताए । दुई/चार वर्ष जनताको बीचमा गएर अभियान सञ्चालन गर्ने उनको भनाइ छ । उनले उमेरको कारणले आफूपछि नहट्ने पनि बताए । अझै पनि क्रान्तिमा अगाडि बढ्ने भन्दै अध्यक्ष दाहालले आफूले क्रान्तिको नेतृत्व नछाड्ने स्पष्ट पारे ।

उनले भने, ‘जनयुद्ध सुरु गर्ने बेलामा म ४२/४३ वर्षको थिएँ । अब अहिले ६६/६७ वर्षको भएँ । कतिपयले अब उमेर भएकाले त छोडिदिनुपर्छ भन्छन् । तर, म छोड्नेवाला छैन । एकचोटी फेरि क्रान्तिमा जाने सोचमा छु । लड्नेवाला छु, छोड्नेवाला छैन । माओत्सेतुङले ७२ वर्षमा सांस्कृतिक क्रान्ति गरेका थिए । म एकचोटी फेरि क्रान्तिमा अगाडि जानेछु । दुई चार व्याटल जित्न बाँकी छ ।’

अध्यक्ष दाहालले जनयुद्धकालमा काम गरेका स्वास्थ्यकर्मीहरुलाई पार्टीमा उचित ठाउँ दिएर राखिने बताए । आउँदो केन्द्रीय समितिको बैठकले जनयुद्ध कालमा काम गरेका स्वास्थ्यकर्मीहरुको बारेमा विशेष निर्णय गर्ने पनि बताए । उनले कोर्स करेक्सन गरेर प्रतिक्रियावादीहरूसँग लड्ने पनि बताए ।

प्रतिक्रिया