प्रधानमन्त्रीमा ओलीको विकल्प दिऔँ !

admin

काठमाडौं, २८ फागुन : नेपाली कांग्रेसको पदाधिकारी बैठकअघि रामचन्द्र पौडेल र कृष्णप्रसाद सिटौला समूहबीच छलफल भएको छ । कांग्रेसका महामन्त्री शशांक कोइरालाको निवास महाराजगञ्जमा बसेको बैठकमा कांग्रेस संस्थापन इतर पक्षका शीर्षस्थ नेताको सहभागिता रहेको थियो ।

समसामयिक राजनीतिका सन्दर्भमा बिहान छलफल भएको नेता अर्जुननरसिंह केसीले जानकारी दिएका छन् । उनका अनुसार छलफलमा पौडेल, सिटौला, महामन्त्री शशांक कोइराला, प्रकाशमान सिंह अर्जुननरसिंह केसी लगायतका नेताहरुको सहभागिता थियो ।

‘अहिलेको वस्तुस्थितिमा नेपाली कांग्रेसको भूमिका अब आउने दिनमा कस्तो हुनुपर्छ भन्ने विषयमा छलफल भयो । पार्टी पदाधिकारी बैठकअघि साथीहरूबीच छलफल गरौँ भनेर बसेका हौँ,’ केसीले भने । सभापति शेरबहादुर देउवाले शुक्रबार दिउँसो ३ बजे आफ्नो निवास बूढानीलकण्ठमा पदाधिकारी र पूर्वपदाधिकारीको बैठक बेलाएका छन् ।

देउवाले पदाधिकारी बैठकपछि जनता समाजवादी पार्टी (जसपा)सँग सत्ता साझेदारीका विषयमा छलफल गर्ने भएपछि बैठकमा जानुअघि पौडेल र सिटौला पक्षले छलफल गरेको बुझिएको छ । नेता केसीले यतिबेला कांग्रेसले सरकारमा जानेभन्दा वैकल्पिक सरकार दिनुपर्ने बताए ।

‘बैठकमा मैले वर्तमान परिस्थितिमा कांग्रेसले सरकारमा जानेभन्दा वैकल्पिक सरकार दिनुपर्छ भनेको हुँ । कांग्रेसको अग्रसरतामा वैकल्पिक सरकार बन्नुपर्छ भन्ने मेरो मान्यता छ ।’ यद्यपि वैकल्पिक सरकार दिने अवस्थामा आइपरेको खण्डमा सरकार नेतृत्व लिन पनि पछि हट्नुपर्ने उनको भनाइ छ ।

महामन्त्री कोइरालानिकट स्रोतका अनुसार शुक्रबारको छलफलले केपी ओलीको विकल्प दिनुपर्नेमा निष्कर्ष निकालेको छ । नेता केसीझैँ अन्य नेताहरुले पनि सोही खालको धारणा राखेको थिए । सोही ढंगले पदाधिकारी बैठक प्रस्तुत हुने पौडेल-सिटौला समूहको रणनीति छ ।

प्रतिक्रिया